भद्रपुर, फागुन २९ । २०२२ सालमा स्थापना भएको सदरमुकाम चन्द्रगढीमा रहेको वीरेन्द्र माध्यमिक विद्यालयले ५७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालय प्रांगणमा सोमवार आयोजित कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए । कार्यक्रममा दाता सम्मान तथा उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक खिलाराज कोईरालाले विद्यालय स्थापनादेखि हालसम्मका गतिविधिका बारेमा प्रकाश पारेका थिए । उनले वर्तमान परिस्थितिमा विद्यालका चुनौती र भावी कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

सो अवसरमा विद्यालयलाई सहयोग पुर्याउने माछापुछ्रे बैंक र नेपाल टेलिकम चन्द्रगढीलगायतका दाताहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उत्कृष्ट छात्रछात्रालाई धर्मप्रसाद घमचन्द्र स्मृति छात्रबृति , स्वर्गीय डिल्लीप्रसाद भट्टराई स्मृति कोष छात्रवृति , स्व. विद्यानाथ पवित्रादेवी तिम्सिना अक्षयकोष र केशर जमुना स्मृति छात्रवृति वितरण गरिएको प्रअ कोईरालाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, शिक्षा समन्वय ईकाई समिति झापा प्रमुख राजकुमार वि.क., बसन्ती रंजितकार, राजेन्द्रप्रसाद दाहाल, शिक्षक महासंघ भद्रपुरका अध्यक्ष गणेश गिरी, पूर्व प्रअ टंकनाथ शर्मा पाण्डे , बालक्लब अध्यक्ष प्रशिका खड्कालगायतले मन्तव्य राखेका थिए । शिक्षक गिरीधर शर्मा कट्टेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका मन्जु दाहालले राखेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले लघुनाटक ,गीत , नृत्यसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्