झापा, चैत १ । झापाका १३ वटा क्याम्पसमध्ये तीनवटा क्याम्पसमा स्ववियु निर्वाचन अन्यौलमा परेको छ ।

विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन अन्यौलमा परेको हो । विद्यार्थीहरुले काँकडभिट्टा बहुमुखी क्याम्पस, गौरादह बहुमुखी क्याम्पस र गरामनी क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचनसम्बन्धी आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकडभिट्टा क्याम्पसले आचारसंहिताबिपरित जबर्जस्ती भर्ना कार्यक्रम गरेकाले विवाद उत्पन्न भएको विद्यार्थी संगठनहरुले दावी गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले आचारसंहिता लागु भएपछि क्याम्पसले विद्यार्थी भर्ना गरेकोमा बिरोध गरेपछि क्याम्पस प्रशासनले अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । सर्वदलीय बैठक बोलाएर निर्वाचन गराउने सहमति भएपनि विद्यार्थी संगठनहरुले ताला नखोल्दा निर्वाचनको वातावरण बन्न नसकेको क्याम्पस संचालक समितिका अध्यक्ष कमल थापाले बताए । समस्या हल गरी निर्वाचन गराउने सम्बन्धमा मंगलवार सर्वदलीय बैठक डाकिएको थियो ।

त्यस्तै गौरादह बहुमुखी क्याम्पसको प्रशासनकक्षमा तीन बिद्यार्थी संगठनहरुले ताला लगाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेर क्याम्पस प्रशासनले फर्जी विद्यार्थीहरु भर्ना गरेको भन्दै तीन विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा शुक्रबार ताला लगाएका हुन् ।
नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिइसकेको र अन्य दुईवटा विद्यार्थी संगठनले पनि तालाबन्दी खोलिदिएर पठनपाठन सुचारु गरिएको क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले बताए । उनले तालाबन्दीका कारण अहिलेसम्म निर्वाचनका कुनै पनि कार्यक्रम शुरु नगरिएको जानकारी दिए ।

त्यस्तै गरामनी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ र राप्रविसंघले तालाबन्दी गरेका छन् । अनेरास्ववियुका विद्यार्थीहरु स्ववियुमा निर्विरोध निर्वाचित भएपछि त्यसप्रति असहमति जनाउँदै ती दुई संगठनले तालाबन्दी गरेको क्याम्पस प्रमुख नवीन रायले बताए । ताला खुलाउने विषयमा पहल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्