झापा, चैत १ । निर्वाचन आचारसंहिताविपरीत विद्यार्थी भर्ना गरिएकोले ती नामहरू मतदाता सूचीबाट हटाउन गरेको माग सम्बोधन नभएको भन्दै नेकपा एमालेनिकट अनेरास्ववियुले काँकडभिट्टा बहुमुखी क्याम्पसमा तोडफोड गरेको छ ।

एमालेनिकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियुबीच झडप भएको जनाइएको छ । क्याम्पस गेटमा भएको बोर्ड एमालेनिकट अनेरास्ववियुले जलाउन खोज्दा एकीकृत समाजवादीनिकट अनेरास्ववियुले रोकेको थियो । त्यसक्रममा झडप भएको जनाइएको छ ।

काँकडभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनसम्बन्धी विवाद झन् बढ्दै गएको छ । अराजक गतिविधि गर्ने अनेरास्ववियुका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा अनेरास्ववियुका जिल्ला कार्यालय सचिव सन्तोष धमला र क्याम्पस कमिटी अध्यक्ष सन्देश पौडेल रहेका छन् । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएकोमा बुधवार छलफल गर्नेगरी छोडिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्