लागूऔषध भन्नेबित्तिकै हामीले बुझ्नु पर्छ कि जुन वस्तु स्वस्थ्य शरीरभित्र प्रवेश गर्नासाथ लठ्ठाउँछ , मताउँछ, झुम्म बनाउँछ , व्यवहार परिवर्तन गराउँछ , लत लाग्छ भने त्यो नशालु पदार्थ नै लागूऔषध हो।
अथवा अघाउने कुरा खानेकुरा हो । जुन वस्तुले लाग्ने ,लठ्ठाउने , मताउने, झुम्म बनाउने आदि लागूऔषध हुन् । तर, युवायुवतीहरु लागूऔषध दुर्व्यसनको पर्याप्त ज्ञानको अभावमा जसले जे भन्दछ, त्यो पत्याउने ,साथीभाइसंग बढी समय बिताउने हुँदा स्कुल कलेजदेखि नै कुलत तथा दुर्व्यसनमा फसेको पाइन्छ । जीवनको वास्तविक महत्व बुझाउन नसक्नु ,घरपरिवारले महँगो स्कुल पढाउनु , स्कुल व्याग आफै बोकिदिनु , हातमा पैसा दिनु , लुगाकपडा आफै लगाइदिनु , जुत्ता पालिस आफै गरिदिनुलाई चाहिँ माया सम्झिन्छन् ।तर, नानीबाबुहरुलाई उनीहरुको जिम्मेवारी वा दैनिक नित्य कर्मबाट बञ्चित गरिरहेको छु भन्ने कहिल्यै नसोच्नु पनि एक कारण बन्न पुगेको छ दुर्व्यसनमा फस्नु ।
सबैले निम्न कुराहरुमा ध्यान पुर्याऔं , नानीबाबुलाई दुर्व्यसनबाट टाढा राखौं ।
१. जीवन सुन्दर अनि अमूल्य छ । यो मानव जीवनको बयान शब्दले अपुग हुन्छ । जसले जीवनलाई सुन्दर तथा कलात्मक तरिकाले जिउन सक्छ, त्यो मानव नै बुद्धिमान कहलिन्छ। समाजमा ऊ अब्बल दर्जाका रुपमा उदाहरण हुन्छ भन्ने ज्ञान दिनु पर्दछ ।

२. जीवन जिउने कला सबैमा नहुन सक्छ ।एकै खालको प्रतिभा सबैमा हुँदैन। अनुभवीहरुले भन्दछन्, ‘बगेको खोला र जवानी कहिल्यै फर्केर आउँदैन।’ यो भनाई कुलतमा जीवन बर्बाद गर्नेहरुप्रति पनि लक्षित छ। तसर्थ नानीहरुलाई समयको महत्व पनि बताउनु पर्छ ।
३. कतिपय मानिसहरु जीवन जिउन नजानी नराम्रो लत अर्थात् कुलतको सहायता लिन बाध्य भइदिन्छन्। कुलत खराब आनीबानी हो। जीवनको सुन्दरता तथा महत्वबारे पर्याप्त जानकारी नहुँदा लापर्बाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई लागूऔषधको दुर्व्यसनमा फस्दछन् ।तसर्थ घरपरिवारका सदस्य वा स्कुल कलेजमा नशाजन्य पदार्थले निम्त्याउने दुष्परिणामबारे पूर्णरुपमा जानकारी दिने लेख रचना, निबन्ध प्रतियोगिता आदि गराउने ।
४. विशेषगरी अत्यधिक आकांक्षा बोक्ने युवायुवतीहरुलाई लागूपदार्थको नकारात्मक असरबारे बुझाउन आवश्यक छ । लागूपदार्थ तथा औषधि सेवनले व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा नकारात्मक असर पुर्याउँछ। लागूऔषध दुर्व्यसनले शारीरिक , मानसिक तथा आर्थिक सबै बर्बाद पार्छ भन्ने कुराको जानकारी गराउने ।
५. लागूऔषधले मस्तिष्क अनि शरीरलाई लट्ठ पार्छ। यसरी शरीरलाई निन्द्राको भावमा मोहित पार्न सेवन गरिने नशादार वा मादक वस्तुलाई लागूपदार्थ पनि भनिन्छ । यस्तो वस्तुको सेवन गर्ने लतलाई दुव्र्यसन भनिन्छ। यो आधुनिक समाजले नराम्रो मानेको आदत हो। यसको प्रभावले १५ बर्षभन्दा कम उमेरका नानीबाबुहरु कुनै पनि लतमा फस्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।यसको न्यूनीकरणका लागि पहिलो काम सचेतना , परमर्श नै हो ।
६. लागूऔषध दुर्व्यसनले चिन्ता, तनाव , विभिन्न समस्याहरुलाई समाधान गर्न सकिन्छ भन्ने भ्रम पाल्ने र चुनौतीसंग सामना गर्न नसक्नेहरु लागूपदार्थ प्रयोगकर्ता भई यस्तो आदत अँगाल्छन्। यो सेवन गर्दा बानी व्यहोरा तथा दैनिक क्रियाकलापमा परिवर्तन भइदिन्छ। दिमागलाई लठ्ठाइ दिन्छ र क्रमशः पढाइ लेखाइ कमजोर हुँदै नशामै आत्मनिर्भर बन्न पुगिन्छ भने ज्ञान नहुनु नै युवा पिढी दुर्व्यसनमा फस्नु पहिलो कारण मानिन्छ ।
७. विश्व संगठनका अनुसार नशाका प्रयोगकर्ता पनि एक रोगी हुन् । विश्व स्वास्थ्य संगठनकै अनुसार लागूऔषध भनेको रासायनिक पदार्थ हो। यो स्वस्थ शरीरको लागि प्रयोग गर्न नमिल्ने पदार्थ हो भनी परिभाषित गरेको छ ।यी सव कुरा युवायुवतीमा जानकारी पुगेको छैन ।
८. केही तथ्य हेर्दा विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन्। गाँजाको दुर्व्यसनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन्। गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागूऔषधको रुपमा रहेको छ। त्यसपछि औषधि पसलमा पाइने विभिन्न औषधिको दुरुपयोग , हार्डवेयर पसलबाट ड्रेनराइट विभिन्न गम आदि नै आज दुर्व्यसनको रुपमा प्रयोग भएको पाइन्छ ।तर के हामीले यस्ता विषयमा कार्यशाला गोष्ठी सेमिनार विज्ञद्वारा सचेतना कार्यक्रम गरेका छौ त ? प्रश्न यो प्रमुख हो ।
९. हाम्रो देशमा भएका विभिन्न अध्ययन तथा अनुसन्धान अनुसार युवापुस्ता कुलतमा फस्नुमा विभिन्न कारण हुन्छ। जसमध्ये केही कारण यी हुन् ।

पारिवारिक कारण

आजको पुस्ता लागूऔषध दुर्व्यसनमा फस्नुको पहिलो कारण घरपरिवार हो। परिवारको कुनै सदस्यले लागूऔषधको प्रयोग गर्दा बालबालिकाले पनि त्यसको सिको गर्छन्। त्यही कारणले गर्दा उनीहरू लागूऔषधको प्रयोग गर्छन्। परिवारको राम्रो व्यवहार नहुँदा, उनीहरूसँग समय नबिताउँदा, जति पैसा माग्यो सो पैसा दिनु, मागेको पैसा के कुरामा खर्च गर्छ त्यसको खोजीनीति नगर्नु, आफ्ना सन्तानको धेरै बिश्वास गर्नु, सन्तानले गरेको नराम्रो कार्य ढाकछोप गर्दा किशोरकिशोरीहरू कुलतमा फसिरहेका हुन्छन्।
परिवारमा पनि आफ्नो सन्तान कुलतमा लागेको थाहा पाउने आमा हुन्छन्। आमाले चाहेमा समस्या समाधान हुन्छ। त्यसैले आमाहरूले समयमा नै आफ्ना सन्तानको खराब लतको उजागर गर्नुपर्छ अनि मात्र समस्याको न्यूनीकरण हुन्छ।

सांस्कृतिक तथा सामाजिक कारण

कतिपय समुदायमा परम्परादेखि चल्दै आएको सांस्कृतिक तथा सामाजिक कारणले पनि अहिलेको पुस्ताहरु लागूऔषधको कुलतमा फसेका छन् जस्तैः हाम्रो कतिपय समुदायमा जाँड रक्सीको सेवन गर्ने परम्परा नै छ। सो परम्पराले पनि उनीहरूका घरका सन्तान लागूऔषधको कुलतमा फसेको तथ्यहरु छन् ।

साथीसंगतीको कारण

अहिलेको पुस्ता साथीहरूको लहैलहैमा लाग्ने ,उनीहरुको दबाबलाई थेग्न नसकेको कारणले पनि लागूऔषधको कुलतमा फसेको देखिन्छ । गलत साथीको संगतले गर्दा कतिपय लागूऔषधको दुर्व्यसनमा ८७.७ प्रतिसत युवायुवती फसेको तथ्यांक देखिन्छ ।
साथीले सुरूमा केही पनि हुँदैन भनेर चाख्न लगाउने पछि त्यसले गर्दा बानी पर्ने यो लतलाई छोड्न गाह्रो हुने धेरै उदाहरण छन्। हरेक अभिभावकले आफ्ना सन्तानलाई कुलतबाट जोगाउन साथीसंगतीको संगत बेला बेला के कस्तो छ अनुगमन गर्नुपर्ने हुन्छ।
हिंसा तथा दुर्व्यवहार

लागूऔषधको कुलतमा कतिपय मानिसहरू घरेलु हिंसा तथा दुर्व्यवहारको कारणले पनि फसेका छन्। सन्तानले आफूले भनेको जस्तो काम नगरेको खण्डमा उनीहरूलाई मानसिक तनाव दिने, गालीगलौज गर्ने, छोराछोरीलाई चाहेको तथा आवश्यक पर्ने कुरा पनि उपलब्ध नगराउने, कुटपिट गर्ने यस्तो अवस्थाको अवस्था सृजना भएको खण्डमा उनीहरू घरमा नआउने साथीसंगतिसँग लागेर लागूऔषधको कुलतमा फस्ने गरेको विभिन्न अनुसन्धानले बताउँछ।

बेरोजगारी समस्या
लागूऔषधको कुलतमा अहिलेको युवापुस्ता फस्नुको कारण बेरोजगारी पनि हो। देशमा दिनप्रतिदिन बढ्दो बेरोजगारी समस्या छ। देशमा रोजगारीको अवसरहरू पर्याप्त मात्रामा छैन । स्नातक वा स्नातकोत्तर अध्ययन गरेका युवा पुस्ताहरू बेरोजगार छन्। युवा पुस्तालाई व्यस्त राख्ने कुनै अवसर छैन। त्यसैले गर्दा यी लागूऔषधको कुलतमा फस्नुको कारण बनेको छ।

यौन शक्ति वृद्धि
मैले एकजना लागूऔषध (प्रयोगकर्ता ) सेवनमा लागेका व्यक्तिलाई सोधेँ। वर्ष २५ का जितेन्द्र (नाम परिवर्तित)लाई के कारणले तपाईंले लागूऔषधको कुलतमा फस्नु भयो भन्दा उहाँले अलि बेग्लै किसिमको कथा सुनाउनु भयो।
१८ वर्षको उमेरमा उहाँले प्रेम विवाह गरेको रहेछ। विवाहको समयसम्म चुरोट मात्र खाने, कहिलेकाहिँ रक्सी खाने बानी रहेछ। तर त्यसको दुई– तीन वर्षपछि साथीभाइले गाँजा ट्याव्लेट खाँदा साथीहरुले सेक्स पावरमा वृद्धि हुन्छ भन्ने कुरा सुनेर तीन, चार वर्ष लगातार लागूऔषध सेवन गर्न थाले।
जसले गर्दा लागूऔषधको लत लाग्यो। जुन कारणले म लागूऔषध प्रयोगकर्ता बन्न पुगेँ भनी बताउँछन् । साथीभाइको गलत सुझाव, गलत सोचाइका कारणले पनि अहिलेको पुस्ता लागूऔषधमा फस्ने गरेको प्रशस्त उदाहरण छन् ।
लागूऔषध दुर्व्यसनको लतमा लाग्नु यी माथिका कारण मात्र होइन, यसका अलावा विभिन्न अनुसन्धानबाट के थाहा छ भने यसबाट हुने क्षतिको बारेमा अहिलेको पुस्तालाई जानकारी नहुनु, चेतनामूलक कार्यक्रमको कमी हुनु प्रमुख कारण मानिदैँ आएको छ । जसरी सर्पले टोके मर्न सकिन्छ ,पौडी खेल्न नजान्दा डुबिन्छ ,मुसाको दवाइ मानिसले खाए मर्न सकिन्छ भन्ने ज्ञान छ यी वस्तुबाट टढा रहिन्छ तर कुनै पनि नशा स्वस्थ्य शरीरका लागि हानिकारक छ भन्ने चेतना प्रशिक्षण चाहिँ खोइ त ?
कुनै पनि व्यक्ति आफूले सोचे अनुसारको सफलता नहुनु, खुला सिमाना, लागूऔषधको बेचबिखन र प्राप्ति सहज हुनु, रातारात धनी हुने सपना देख्नु, गरिबीको कारण, साना बालबालिकाहरूलाई यसमा प्रयोग गर्नु, कानुनको कडा रूपमा कार्यान्वयन नहुनु,आदि दोस्रो कारण बन्न पुगेको छ ।
लागूऔषध सहज रूपमा उत्पादन हुनु, डाक्टरको बिनासल्लाहमा पनि मेडिकल पसलहरूले औषधि विक्री वितरण गर्नु, डिप्रेसन, खराब संगत र परिवारको साथ नपाएर लागूपदार्थ सेवनतिर आकर्षित हुन्छन्।
लागूऔषध दुर्व्यसनमा कमी ल्याउनको लागि घरपरिवारको महत्वपूर्ण भूमिका हुन्छ । बालबालिकाको समस्याहरु सुन्ने , अभिभावकहरुले उनीहरुलाई समय दिने ,उनीहरूका कुरा सुन्ने, दिनभर के–के गरे सो कुरा ध्यान दिएर सुन्नु पर्छ।
आफूले दिएको पैसाले के खायो त्यसको बारेमा पनि बुझ्ने, साथीको जस्तो व्यवहार गर्ने, छोराछोरीका लुगा कपडा सुँघ्ने, खल्तीहरू चेकजाँच गर्ने, समय–समयमा स्कुलमा गएर सन्तानको बारेमा बुझ्ने, साथीसंगतिको बारेमा पनि बुझ्ने, आफ्ना छोराछोरीका साथीका अभिभावकसँग पनि समन्वय गर्ने, उनीहरूका सकारात्मक काम तथा गुणको प्रशंसा गर्नु पर्दछ।
लागूपदार्थको प्रयोगबाट देखिने शारीरिक, मानसिक र सामाजिक समस्याको बारेमा जनचेतना फैलाउने, स्कुलदेखिको पाठ्यक्रममा नै लागूऔषधको प्रयोगबाट हुने असरको बारेमा शिक्षा दिन आवश्यक देखिन्छ ।
त्यस्तै सरोकारवाला निकायले विभिन्न कार्यक्रमको आयोजना गर्ने ,स्कुल कलेजमा कक्षाहरू संचालन गर्ने, बालबालिकाहरुलाई यस्ता किसिमका जनचेतनामुलक कार्यक्रममा समावेश गराउने, योसम्बन्धी सडक नाटक गर्ने आदिको थालनी गर्नु पर्दछ।
सचेतना दिनेखालका अडियो÷भिडियोहरू प्रसारण गर्ने, स्कुलको वरिपरि मदिरा तथा सूर्तिजन्य पदार्थ १०० मिटर वरिपरि बिक्रीवितरणमा रोक लगाउने, शिक्षकहरूले पनि कुनै विद्यार्थीमाथि शंका लागेमा अभिभावकलाई समयमा खबर गर्ने गर्नुपर्छ।
स्कुलका ८ कक्षादेखि माथिका विद्यार्थीहरूको कहिलेकाहिँ किटमार्फत पिसाब चेकजाँच गर्ने जसले गर्दा लागूपदार्थको कुलतमा फसेका बालबालिकाहरू सजिलै पहिचान गर्न सकिन्छ।

घरपरिवारले बच्चाको नजिक मदिरा तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने, सकेसम्म यस्ता चिजवस्तुहरु घरबाट टाढा राख्ने। स्थानीय सरकारले यसमा बजेट छुट्याउने, स्थानीय सरकार, स्थानीय प्रहरी, स्थानीय क्लब, आमा समूह तथा विभिन्न संघसंस्था मिलेर जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, लागूऔषधको उत्पादन हुने ठाउँमा गई सो लागूऔषध फडानी गर्ने, यस्ता कुरा उत्पादनमा रोक लगाउने आदिको तदारुकताका साथ कार्यान्वयन गर्ने ।
लागूऔषध कारोबारीलाई कानुनको कठघरामा उभ्याउने, लागूपदार्थको दुर्व्यसनीलाई अपराधीको रूपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे अवश्य निको हुन्छ भने सचेतना व्यापक रूपमा प्रचारप्रसार गरि जनमानसमा फैलाउने आदि ।

निष्कर्ष ः– युवा आजका साझेदारी हुन् , सृजना हुन् ।युवा भोलिका देशका भरोसा हुन् ।यदी युवाहरू नै लागूऔषध प्रयोगकर्ता भए देशको विकास कसरी हुन्छ? गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँछ जसले हाम्रो राष्ट्रलाई खोक्रो बनाउँछ ।
हामी सबै मिलेर हातेमालो गरेर लागूपदार्थको सेवन, बेचबिखन रोक्न लाग्नुपर्छ। सामाजिक जनचेतनाको अभियान सञ्चालन गर्नुपर्छ।
युवा शक्ति त्यो शक्ति जसले सिर्जनशील भूमिकाको माध्यमबाट दुर्व्यसनी कमि गर्न सक्छ। युवाले चाहे के हुँदैन र? युग बद्लिन सक्छ, क्रान्ति ल्याउन सक्छ भने लागूपदार्थको दुर्व्यसनी कुन ठूलो कुरा हो र? अवश्य युवालाई नै परिचालन र पूर्ण ज्ञान प्रदान गर्नसके लागूऔषध दुर्व्यसनमा कमि ल्याउन सकिन्छ ।

यसरी युवाहरू दुर्व्यसनमा फस्दा घरपरिवार समाज र राष्ट्र समेत विकासमा पछाडि पर्छ। ‘लागूपदार्थको साटो स्वस्थ जीवनको बाटो’ भन्दै हामी सबैले हातमा हात काँधमा काँध मिलाएर अगाडि बढेमा यसलाई शून्यमा झार्न सक्छौँ । स्वस्थ्य नागरिक राज्यको पुँजी हुन् । यो नविर्सौ तपाईं हाम्रा छोराछोरी पनि कुलत र दुर्व्यसनमा फस्न सक्छन् ।लागूऔषध प्रयोगकर्ता नशाका रोगी हुन् ।रोगलाई उपचार तथा पुनर्स्थापना गरि पहिलाकै अवस्थामा ल्याउन सकिन्छ ।हेला, विभेद, तिरष्कार गरेर दुर्व्यसन न्यूनीकरण हुँदैन ।माया, ममता, स्नेहबाट लागूऔषध दुर्व्यसनीलाई त्यस लतबाट बाहिर ल्याउन सकिन्छ ।विस्तृत जानकारीको लागि चेतना नेपाल भद्रपुर ७ मा ९८०७९९२७६६ मा सम्पर्क गरौ । ( लेखक चेतना नेपालका अध्यक्ष हुन् )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्