झापा, चैत ५ । झापाका १० वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको मतदानमा सन्तोषजनक मत खसेको छ ।

सबैभन्दा बढी प्रतिशत मत(९७ प्रतिशत) गौरादह कृषि क्याम्पस गौरादहमा खसेको छ भने सबैभन्दा कम प्रतिशत(५२ प्रतिशत) मत कन्काई आदर्श क्याम्पस बिर्तामोडमा खसेको छ । कन्काई आदर्श क्याम्पसमा कुल १ हजार ८६१ मतदाता रहेकोमा ९६९ मत खसेको हो । त्यस्तै गौरादह कृषि क्याम्पसमा कुल २३६ मतदाता रहेकोमा २२९ मत खसेको जनाइएको छ । त्यस्तै साविक मेची अंचलको पुरानो र ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा ६७ प्रतिशत मत खसेको छ । जम्मा ३ हजार ११३ मतदाता रहेको सो क्याम्पसमा २ हजार ९४ मत खसेको हो ।

त्यस्तै कन्काई बहुमुखी क्याम्पस सुरुङ्गामा कुल १हजार ३७१ मतदातामध्ये ८३२ अर्थात ६१ प्रतिशत ,शनिश्चरे क्याम्पसमा कुल ५८६ मतदातामध्ये ४२३ अर्थात ७४ प्रतिशत , सितारमेश क्याम्पस बुद्धशान्तिमा कुल ४७९ मतदातामध्ये ३८८ अर्थात ८१ प्रतिशत ,त्रिदेव क्याम्पस चारआलीमा कुल १ हजार ४ मतदातामध्ये ६५४ अर्थात ६५ प्रतिशत , गौरीगञ्ज क्याम्पसमा कुल २०० मतदातामध्ये १८६ अर्थात ९३ प्रतिशत , दमक बहुमुखी क्याम्पसमा कुल ३ हजार ३०८ मतदातामध्ये २ हजार ५८ मत अर्थात ६२ प्रतिशत र इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा कुल १ हजार ५०८ मतदातामध्ये ८९२ अर्थात ५९ प्रतिशत मत खसेको हो । जिल्लाका क्याम्पसहरुमा शान्तिपूर्णरुपमा स्ववियु निर्वाचन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

आज जिल्लाका १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । जिल्लाका १३ वटा क्याम्पसमध्ये काँकडभिट्टा बहुमुखी क्याम्पसमा चैत १० गतेका लागि निर्वाचन सारिएको छ भने गरामनी क्याम्पसमा स्ववियु निर्विरोध भएको घोषणा गरिएको छ । गौरादह बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित गरिएको छ । अर्को निर्वाचनको टुंगो लागिसकेको छैन । मतदान सम्पन्न भइसकेपछि मतगणना शुरु भएको जनाइएको छ । गौरादह कृषि क्याम्पसको मतगणना सम्पन्न भइसकेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्