झापा , चैत्र ६ । ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ ।
फुङ्लिङ नगरपालिका-९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो। जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले केन्द्र निर्माण गरेका हुन्। जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए। राईका अनुसार केन्द्र स्थापनाका लागि रू एक करोड ५७ लाख खर्च भएको छ । निर्माण कम्पनी एसएनपीका आयोजना सुपरभाइजर अमृत भट्टराईका अनुसार संरचना निर्माणमा वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको छ । भट्टराईले गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर भवन निर्माण गरिएको बताए । केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताए । स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन, सदुपयोगसहित पर्यटन प्रवद्र्धन गरी उपभोक्ता समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको उनको भनाइ छ । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनीस्थलका रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ ।