झापा , चैत ८ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद पाठकले राजश्व संकलनको लागि परीक्षण भन्दै पूर्वी नाकामा एसियन हाइवे बन्द गराएको पाँच दिन भयो । त्यसबाट आफूहरुलाई समस्या भएको सर्वसाधारण यात्रुहरुले गुनासो गर्दा पनि उनले वास्ता गरेका छैनन् ।

मुख्य राजमार्ग नाका बन्द गरी यात्रु शाखामा प्रवेश गराएर चेकजाँच गर्दा यात्रुहरुलाई समस्या भएपछि जनप्रतिनिधिहरुले समेत त्यसप्रति चासो राखेका छन् । भन्सार प्रमुख पाठकको त्यस कार्यप्रति उनीहरुले आपत्ति जनाएका छन् । भारतबाट आउने यात्रुहरुलाई मुख्य एसियन हाइवेमा चेकजाँच नगरी उत्तरपट्टी यात्रु शाखामा प्रवेश गराई चेकजाँच गर्दा झन्झटिलो भएको छ । भारतबाट चारचक्के र दुईचक्के सवारीसाधनमा आउने नेपाल र भारतका सबै यात्रुहरुलाई उत्तरपट्टी भन्सार कार्यालयको हाताभित्र प्रवेश गराई त्यहाँ चेकजाँच गरिसकेपछि सुपारी लाइन हुँदै देवकोटा पार्क निकाल्ने गरिएको छ ।

सर्वसाधारण यात्रुले समस्या भएको गुनासो राखिसकेपछि त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको प्रदेशसभा सदस्य गोपाल तामाङले बताए ।‘नाकाको हाइवे बन्द गर्दा समस्या भएको छ ’ उनले भने ,‘ हाइवे खोल्न हामीले भनिसकेका छौं ।’ उनले त्यसबारेमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीसंग पनि कुरा गरिसकेको जानकारी दिए ।

मेचीनगर नगरक्षेत्रभित्र पर्ने सीमा नाकाको हाइवे बन्द गर्दा मेचीनगरपालिकाको पनि ध्यानाकर्षण भएको छ ।आफूले पनि हाइवे बन्द नगर्न भनेर भन्सार प्रमुख पाठकलाई भनिसकेको मेचीनगर नगर प्रमुख गोपाल बुढाथोकीले बताए ।‘ भन्सार प्रमुखले नटेरेपछि हामी त्यस विषयमा लागिपरेका छौं’उनले भने,‘ भोलि त्यस विषयमा बैठक बोलाएका छौं । ’ यसरी भन्सार कार्यालयले हाइवे बन्द गरिरहँदा सडक विभागले पनि चासो राख्नुपर्ने नगर प्रमुख बुढाथोकीको भनाई छ ।

झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका नेता अग्नी खरेलले पनि भन्सार प्रमुख पाठकको त्यस कार्यप्रति आपत्ति जनाएका छन् । ‘नगर्नुपर्ने काम किन गरेको होला ’उनले भने,‘ त्यसबारे हामी बुझ्दैछौं ।’
‘कर्मचारीले लामो समय टिकेर काम गर्न जनताको मन जित्नुपर्छ , आफ्नो मनले हुँदैन’ उनको भनाई छ ।

यसअघि हाइवेमै चेकजाँचको व्यवस्था रहेकोमा पाठकले पाँच दिनअघिदेखि सो नयाँ नियम लागू गरेका हुन् । यात्रु शाखामा यात्रुहरुलाई प्रवेश गराई चेकजाँच गर्ने नयाँ नियम लागू गरिएपछि धेरै समय लाग्ने र घुमेर जानुपर्ने झन्झट भएको उनीहरुको गुनासो छ । यात्रु शाखामा थालिएको चेकजाँचप्रति यात्रुहरुले आपत्ति जनाएको चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरु नै बताउँछन् । त्यस विषयमा गुनासो आएपछि यसअघि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि यात्रु शाखामा चेकजाँच गर्ने व्यवस्था हटाउन भन्सार प्रमुख पाठकलाई भनिसकेका थिए । तर, पाठकले टेरेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्