झापा, चैत्र ९ । बैंक तथा वित्तीय संस्था र भुक्तानीसम्बन्धी काम गर्ने संस्थाको सञ्चालक पदमा रहेको व्यक्ति मनिचेञ्जर र रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न नपाउने भएका छन् ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्था र भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेन्जर / विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त मनिचेन्जर/विप्रेषण कम्पनीको सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेन्जर / विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।’ यस्तै, रेमिट्यान्स कम्पनीले विदेशीबाट रेमिट्यान्स मुलुक भित्राउँदा सेवाग्राहीबाट असुली गर्ने शुल्कको केही न केही अंश अनिवार्य रूपमा नेपाली कम्पनीले प्राप्त गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यस्तै विदेशी लगानीअन्तर्गत नपर्ने तर, विदेशी संस्थाको नेपालमा स्थापित शाखाले कानुनबमोजिमा विदेशमा रकम लैजानका लागि विदेशी मुद्राको सटही सुविधा दिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । जसअनुसार रिप्याट्रियसनको सटही सुविधा लिने सम्बन्धमा नेपालस्थित शाखाले राष्ट्र बैंकले तोकेको मापदण्ड भने पूरा गर्नुपर्नेछ । निर्यात प्रयोजनका लागि बैंकहरूबाट चाँदी खरिद गर्दा मासिक एक किलोको सीमा नलाग्ने भएको छ । राष्ट्र बैंकले आन्तरिक प्रयोजनका लागि आयात हुने चाँदीको पनि सीमा बढाएको छ । यसअघि चाँदी आयात गर्दा व्यवसायीहरूले प्रतिपटक ३५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउँथे । अहिले उक्त सीमा बढाएर ६० हजार अमेरिकी डलर बनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्