झापा, चैत ९ । गत वर्ष बिर्तामोडमा १४० जनामा क्षयरोगको संक्रमण देखिँदा ७ जनाको मृत्यु भयो । यस वर्षको ८ महिनाको अवधिमा बिर्तामोडमा ८५ जनामा क्षयरोगको संक्रमण देखापरिसकेको छ भने दुईजनाको मृत्यु भएको छ ।

विश्व जनसंख्याको एकतिहाई क्षयरोगको कीटाणुको संक्रमण जोखिममा रहेको अबस्थामा झापामा पनि यसको संक्रमण उच्च छ । गत साउनदेखि फागुन मसान्तसम्म बिर्तामोडमा ८५ जना नयाँ क्षयरोगी फेला परेको बिर्तामोड नगर अस्पतालका फोकल पर्सन अजय विकले बताए । उनले क्षयरोगीको संख्या थपिदै गएको बताए । बिर्तामोडमा यस वर्ष २७८ जना क्षयरोगी पुग्नसक्ने अनुमान गरिएको छ । बिर्तामोडका बालबालिकादेखि बृद्धबृद्धा उमेर समूहकालाई क्षयरोग देखिएको छ । बिर्तामोडको वडा नं ३ मा ११ महिना , २२ महिना , वडा नं ४ मा दुई वर्ष , वडा नं १ मा ४ वर्षका बालबालिकालाई क्षयरोग लागेको फोकल पर्सन विकले बताए ।

बिर्तामोडको तथ्यांक

त्यस्तै झापामा यस वर्षको ८ महिनाको अवधिमा क्षयरोगका ५८४ जना नयाँ रोगी देखापरेका छन् । २०० महिला , ३३८ पुरुष , १७ जना बालबालिका र पुनः रोग बल्झिएका १९ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्रकुमार दासले बताए । यस वर्ष जिल्लामा क्षयरोगीको संख्या २ हजार ३०० पुग्ने अनुमान गरिएको छ । गत वर्ष ११८६ जनामा क्षयरोगको संक्रमण फेला परेको थियो । गत वर्ष झापामा क्षयरोगबाट १२ जनाको मृत्यु भएको थियो । कूल विरामीको दुई प्रतिशत मृत्यु हुने गरेको दासले बताए । झापामा प्रत्येक पालिकाको स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगीको उपचार गर्नेगरी डट क्लिनिक संचालन गरिएको छ । ती क्लिनिकमा निःशुल्क सेवा उपलब्ध रहेको छ । जिल्लाभरि ६० वटा डट क्लिनिक संचालनमा रहेको फोकल पर्सन दासले बताए ।

झापा जिल्लाको तथ्यांक

हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । त्यस अवसरमा स्वास्थ्य कार्यालय झापाले शुक्रवार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने नाराका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाउँदैछ ।

नेपालको क्षयरोगको तथ्यांक भयावह छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसंख्या क्षयरोगले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्सेनि मर्ने तथ्यांक पनि देखिन्छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवाकेन्द्रहरू रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोभिडको महामारी र विषम परिस्थितिका कारणले अपेक्षाअनुरूप यो लक्ष्य पुरा भइसकेको छैन । यस प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ ।

नेपालमा हुने क्षयरोगमध्ये ७५ प्रतिशत बढी त फोक्सोकै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।
नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दछ भने सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । गाउँघरमा क्षयरोगविरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ ।

क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन्, जसको उपस्थिति प्राचीन समयबाटै भएको पाइन्छ । आज मेडिकल विज्ञानलगायत उपचार पद्धतिको यो उचाइसम्म पुग्दा पनि विश्व जनसंख्याको एकतिहाई क्षयरोगको कीटाणुको संक्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर त झन् बढेर ९० प्रतिशतसम्म रहेको पनि देखिन्छ । प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्