मेचीनगर, चैत ११। काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा कोषाध्यक्षबाहेक सम्पूर्ण पदमा नेपाल विद्यार्थी संघ विजयी भएको छ ।

गएराति ११.५५ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार २५० मत ल्याई स्ववियु अध्यक्षमा नेवसंघका विशाल तामाङ विजयी भएका छन् । त्यस्तै सचिवमा नेविसंघकै सुवाष खत्री १८२ मत ल्याई विजयी हुँदा कोषाध्यक्षमा भने संयुक्त राष्ट्रवादी प्रगतिशील प्यानलकी अनुषा अर्याल १६९ मत ल्याई निर्वाचित भएकी छन् । त्यस्तै सदस्यहरुमा सबैजना नेविसंघका उम्मेदवारहरु विजयी भएका छन् । सदस्यहरुमा सुरज राई २४५ , सुरज चिमरिया २१७ , रिया ढुंगाना २०७ , अंकितप्रसाद चम्लागाई १८५ र योगेन्द्र खड्का(बरदान) १८१ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले जनाएका छन् । समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत नेविसंघले ल्याएको छ । हिजो साँझ सम्पन्न समानुपातिकतर्फको मतगणनामा कांग्रेसनिकट नेविसंघले २१६ , एमालेनिकट अनेरास्ववियुले ११६, एकीकृत समाजवादीनिकट अनेरास्ववियुले ११० , राप्रपानिकट राप्रविसंले ३० र माओवादीनिकट अखिल क्रान्तिकारीले २६ मत ल्याएका छन् । क्याम्पसमा कुल ६१६ मतदाता विद्यार्थी रहेकोमा ५०४ मत खसेको निर्वाचन समितिका संयोजक खड्काले बताए ।


निर्वाचनमा तीनवटा प्यानलले उम्मेद्वारी दिएका छन् । कांग्रेसनिकट नेपाल विद्यार्थी संघका तर्फबाट विशाल तामाङ , एमालेनिकट अनेरास्ववियुका तर्फबाट रोशन भुजेल र माओवादीनिकट अखिल क्रान्तिकारी , राप्रपानिकट राप्रविसं र एकीकृत समाजवादीनिकट अनेरास्ववियुको संयुक्त राष्ट्रवादी प्रगतिशील प्यानलका तर्फबाट विनम सरदारले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्