झापा , चैत्र १२ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भ्वाइस टेलिफोन सेवामा नेपाल टेलिकमको हिस्सा ५७ प्रतिशत रहेको छ ।

गतवर्षको यसै अवधिमा भने नेपाल टेलिकमको बजार हिस्सा ५४.७ प्रतिशत रहेको थियो । दोस्रो नम्बरमा रहेको एनसेलको बजार हिस्सा ३६.४३ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा ३९.९२ प्रतिशत बजार हिस्सा रहेको एनसेलको यो वर्ष घटेको देखिन्छ । गत वर्षको यसै अवधिमा ५.६० प्रतिशत बजार ओगटेको स्मार्ट सेलले अहिले ६.५७ प्रतिशत पुर्‍याएको छ ।

कति छन् प्रयोगकर्ता
पहिलो नम्बरमा रहेको नेपाल दुरसञ्चार कम्पनी अथवा नेपाल टेलिकमका प्रयोगकर्ताको संख्या दुई करोड ९ लाख ८० हजार २३८ रहेको छ । यसमा जीएसएमका प्रयोगकर्ताको संख्या मात्रै १ करोड ९८ लाख ४२ हजार ७३२ रहेको छ । यस्तै, दोस्रो नम्बरमा रहेको एनसेलका प्रयोगकर्ताको संख्या एक करोड ३४ लाख ९ हजार ६१ रहेको छ । स्मार्ट सेलका प्रयोगकर्ताको संख्या भने २४ लाख १८ हजार २११ छ । यसमा खरिद भएर पनि सञ्चालनमा भए नभएकादेखि एउटै व्यक्तिसँग दुई वटा सीमकार्डको समेत गणना हुन्छ ।

ब्रोडब्यान्ड सेवा लिने एक वर्षमा ७ प्रतिशतले बढे
नेपालमा वायर्ड ब्रोडब्यान्डको सेवा लिनेको संख्या कुल जनसंख्याको ३७.२३ प्रतिशत पुगेको छ । यसअन्तर्गत सबैभन्दा बढी इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूबाट सेवा लिनेको संख्या ९४ लाख ९ हजार ८८९ रहेको छ । गत वर्षको यसै अवधिमा यो संख्या ३०.९२ प्रतिशत थियो । वायरलेस ब्रोडब्यान्डको सेवा लिनेहरूको संख्या ६६ हजार ६४९ अर्थात् कुल जनसंख्याको करिब ०.२३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्