झापा , चैत्र १३ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ ।

बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा रसियाले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा रसियासँग गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो हाफमा तीन गोल खायो । नेपालको यो दोस्रो हार हो । रसियाको जितमा एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन्। खेलको ६३औँ मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रसियालाई २-० को अग्रता दिलाइन्। त्यसपछि खेलको ८३औँ मिनेटमा पोलिनाले गोल गर्दै रसियालाई ३-० को जित दिलाइन् । यो जितसँगै रसियाले तीन खेलमा ९ अंक जोडेको छ । रसिया शीर्ष स्थानमा उक्लिएको छ । नेपाल तीन खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्