झापा , चैत्र १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गर्ने तीनजना जेल चलान भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले उनीहरूसँग अभद्र व्यवहार कसुरमा ५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । तर, धरौटी नतिरेपछि उनीहरू जेल चलान भएका हुन् । प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५-५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जेल चलान भएका हुन् । गत चैत ७ गते काठमाडौंको थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री हलमा छिर्नेबित्तिकै यी तीन युवाले गरिबमारा भन्दै नाराबाजी गरेका थिए । प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो जसको व्यापक आलोचना भएको थियो ।