झापा , चैत्र १४ । कोसी प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलित बनेका पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ ।

मंगलबार बिहान दमक नगरपालिका कार्यालयमा ताला लगाउने क्रममा पहिचान पक्षधर र प्रहरीबीच झडप भएको हो । झडपको क्रममा पहिचान पक्षधरका केही प्रदर्शनकारीहरू सामान्य घाइते भएका छन् । आदिवासी जनजाति महासङ्घको अगुवाइमा प्रदेश नम्बर १ पुनः नामाङ्कन सङ्घर्ष समिति गठन गरी आन्दोलित बनेका पहिचान पक्षधरहरूले आफ्नो पूर्वघोषित कार्यक्रममा अनुसार मंगलबार झापा जिल्लाका सबै पालिकाहरूमा विरोध स्वरूप तालाबन्दी, कालोझण्डा गाड्ने, कोसी प्रदेश नाम लेखिएको लेटर प्याड नबनाउन र बनाएको भए मेट्ने जस्ता कार्यक्रम गरिरहेका छन् । सोही कार्यक्रम अनुसार दमक नगरपालिकामा तालाबन्दी गरी फर्किए लगतै प्रहरीले ताला फुटाएपछि पहिचान पक्षधरहरू पुनः ताला लगाउन नगरपालिका प्रवेश गरेपछि दुवै पक्षबीच विवाद भइ झडप भएको थियो। झडप पश्चात् स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गर्दा नगरपालिकाको झ्यालका सिसीहरू फुटेको छ। कार्यालयको दैनिक कामकाज समेत प्रभावित बनेको थियो। अहिले दमक नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पहिचान पक्षधरले जिल्लाका १५ वटै पालिका र १३१ वडा कार्यालयमा तालाबन्दी लगायतको कार्यक्रम गर्ने भएपछि सबै पालिकाहरूमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी रिजालको भनाइ छ । पहिचान पक्षधरहरूले दमक नगरपालिका, दमकै दुई वटा वडा कार्यालय र बुद्धशान्ति गाउँपालिकामा तालाबन्दी गरेका थिए । सबैतिर प्रहरीले ताला फुटाइसकेको बताउँदै उनले भने, ‘अहिले सबै पालिकाहरूमा कामकाज सुचारु छ , नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।’ दमकमा ताला फुटाउने क्रममा प्रहरीसँग घम्साघम्सी भएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्