झापा , चैत्र १४ । कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका छन् ।

ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा उनीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन् । विराटनगरस्थित पाञ्चालीमा अहिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीविरुद्ध ढुङ्गामुढा हुन थालेपछि १२ राउण्ड हवाईफायर भएको छ । प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । उनीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, लाजेहाङ अमर रहुन्, मुख्यमन्त्री कार्की मुर्दावाद, इन्द्रबहादुर आङबो औंला काट र पहिचानवादी एक हौं लगायतका नारा घन्काइरहेका छन् । प्रदर्शनस्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । प्रदेश सरकारले भने फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो । नामकरण खारेजीको माग गर्दै चैत्र ५ गते पहिलोपटक विराटनगरमा पहिचानवादीहरुले आन्दोलन गरेका थिए ।

आन्दोलनमा परी प्रदर्शनकारीको तर्फबाट पदम बहादुर लिम्बू (लाजेहाङ) घाइते भएका थिए । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह-कमान्डर थिए । आन्दोलनरत पक्षले सुरक्षाकर्मीको लाट्ठी प्रहारबाट लिम्बूको मृत्यु भएको दाबी गरिरहेका बेला घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि यस प्रकरणले नयाँ मोड लिएको छ । आन्दोलनकारीले प्रहार गरेको लाट्ठी उनको टाउकोमा लागेको भिडियोमा देख्न सकिन्छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत ८ गते भर्ना गरिएका उनको चैत १० गते बिहान मृत्यु भएको थियो । कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले सोमबार नै उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ दिने निणर्य गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्