एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको खरिद-बिक्री (ट्रेडिङ)हुने ‘प्लेटफर्म’ बाइनान्सलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसन (सीएफटीसी)ले बाइनान्सले अमेरिकामा दर्ता नभई व्यापार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो । सीएफटीसीले बाइनान्सले मनी लान्ड्रिङलगायत विभिन्न अमेरिकी वित्तीय कानुन उल्लंघन गरेको आरोप लगाएको छ । बाइनान्सले भने प्लेटफर्ममा अमेरिकी प्रयोगकर्ता सक्रिय छैनन् भनी सुनिश्चित गर्न महत्वपूणर् लगानी गरेको जनाएको छ । “यो मुद्दा अप्रत्याशित र निराशाजनक छ । किनकि, हामीले दुई वर्षभन्दा बढी समयदेखि सीएफटीसीसँग सहकार्य गरेर काम गरिरहेका छौँ । हामी अमेरिका र विश्वभरका नियामकसँग सहकार्य जारी राख्न चाहन्छौँ,” बाइनान्सले भनेको छ, “अगाडिको उत्तम मार्ग भनेको हाम्रा प्रयोगकर्तालाई सुरक्षित राख्नु र स्पष्ट, विचारशील नियामक व्यवस्था विकास गर्न नियामकसँग सहकार्य गर्नु हो ।” सन् २०१७ मा स्थापित बाइनान्स अहिले डिजिटल (क्रिप्टोकरेन्सी, एनएफटीजस्ता) सम्पत्तिका लागि विश्वको सबैभन्दा ठूलो केन्द्रीकृत विनिमय हो । विश्वव्यापी रूपमा १० करोडभन्दा बढी प्रयोगकर्ता रहेको यो प्लेटफर्मका मालिक चिनियाँ मूलका क्यानाडाली अर्बपति चाङपेङ झाओ हुन् । उजुरीमा उनको नाम पनि उल्लेख छ । सीएफटीसीले बाइनान्स सन् २०१९ देखि अमेरिकामा सक्रिय रहेको जनाएको छ । तर, निगरानीबाट बच्नका लागि अपारदर्शी कर्पोरेट संरचना र अमेरिकी कानुनको पालना गरी दर्ता नभएको आरोप लगाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्