झापा , चैत्त १६ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ ।

उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिए। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनिवार्य विज्ञान विषयको नतिजा उकास्न यस पटकदेखि एक दिन बिदा दिइएको छ । चैत २१ गते बिदा दिएर चैत २२ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन गरिने भएको छ । एसईईमा सबैभन्दा कमजोर नतिजा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयको रहने गरेको छ । त्यसबाहेक अनिवार्य नेपाली र सामाजिक शिक्षाको नतिजा पनि कमजोर नै मानिन्छ । अङ्ग्रेजी र गणितका लागि बिदा भए पनि विज्ञानका लागि परीक्षाको अघिल्लो दिन बिदा नहुँदा त्यसले नतिजामा असर पर्न गएको ठम्याइ राष्ट्रिय परीक्षा बोर्डको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले एक दिन ‘ग्याप’ रहँदा विज्ञानको नतिजामा तुलनात्मक सुधार आउने तर्क गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्