झापा, चैत १७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालन हुँदैछ ।

परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् ।
प्रश्नपत्र, उत्तरपुस्तिका, प्रवेशपत्रलगायत परीक्षा सामग्री केन्द्रमा पु¥याइसकेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जनाए । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । उनका अनुसार ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने बोर्डले जनाएको छ ।
७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एसईई परीक्षा समिति गठन गरेर व्यवस्थित गरिएको हो । विद्यार्थीले पढेको भन्दा फरक विद्यालयको केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ । कोरोनाकालमा विद्यार्थीले होमसेन्टरबाटै परीक्षा दिएका थिए । यस पटक दृष्टिविहीन विद्यार्थी र प्राविधिक धारतर्फका विद्यार्थीका लागि घरपायक केन्द्र कायम गरिएको नियन्त्रक श्रेष्ठले जनाए ।
दृष्टिविहीन स्रोतकक्षामै उपकेन्द्र कायम गरिएको हो । स्रोतकक्षा नजिकको परीक्षा केन्द्रले ती विद्यार्थीको परीक्षा सञ्चालन गर्ने उनले बताए । ५५ जना दृष्टिविहीन विद्यार्थीले यसपालि एसईई दिँदैछन् । यसअघि दृष्टिविहीन विद्यार्थी पनि अभिभावकको सहारामा परीक्षा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो ।

त्यस्तै प्राविधिक धारतर्फ साढे १५ हजार विद्यार्थीले यस पटकदेखि घरपायक परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् । विगतका वर्षमा प्राविधिक धारका विद्यार्थीलाई जिल्ला सदरमुकामकेन्द्रित गरेर १÷२ वटा परीक्षा केन्द्र तोक्ने गरिएको थियो । यस पटकदेखि साधारण धारका विद्यार्थीले परीक्षा दिने केन्द्रबाटै पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ । ५ सय ५ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि प्राविधिक धारको पठनपाठन हुँदै आएको छ । ‘दृष्टिविहीनका लागि उपकेन्द्र र प्राविधिक धारका विद्यार्थीलाई घरपायक केन्द्र मिलाउँदा केही व्ययभार बढेको छ,’ उनले भने, ‘तर पनि विद्यार्थीको हितका लागि यस्तो व्यवस्था गरिएको हो ।’ बोर्डले जापानमा पनि एउटा परीक्षा केन्द्र तोकेको छ । जापानको राजधानी टोकियोस्थित केन्द्रबाट १४ जना विद्यार्थीले एसईई दिनेछन् । बोर्डका अनुसार नेपाली पाठ्यक्रम अध्यापन हुने जापानका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

झापामा १५ हजार ८५८ परीक्षार्थी
माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि झापामा १५ हजार ८५८ परीक्षार्थी सहभागी हुँदैछन् ।
आजबाट हुने एसईईका लागि सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार विश्वकर्माले बताए।

इकाइ प्रमुख विश्वकर्माका अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । इकाइले झापामा ५६ वटा परीक्षाकेन्द्र तोकेको छ ।
नियमिततर्फ ७ हजार ६७२ छात्रा ७ हजार ५४ छात्र गरी १४ हजार ७२६ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन्् । परीक्षार्थीलाई तीनवटा धारमा विभाजन गरेर परीक्षामा सामेल गराउन लागिएको विश्वकर्माले बताए। नियमित, प्राविधिक र ग्रेडबृद्धि गरी तीन धारमा विभाजन गरिएको हो ।
प्राविधिकतर्फ छात्रा २४६ र ३५३ छात्र गरी ५९९ जना परीक्षार्थी सहभागी हुँदैछन् भने ग्रेडबृद्धितर्फ छात्रा ३१३ र छात्र २२० गरी ५३३ विद्यार्थीले परीक्षा दिँदैछन् । त्यस्तै खुल्लातर्फ छात्रा २४ र छात्र १८ जनाले परीक्षा दिँदैछन् ।

परीक्षामा ३ जना दृष्टिविहीन र संस्कृततर्फ ४७ जना सहभागी हुँदैछन् । परीक्षा सम्पन्न गराउन ५६ जना केन्द्राध्यक्ष , १०४ जना सहायक केन्द्राध्यक्ष , ७९७ जना निरीक्षक , १५८ जना परीक्षा सहायक र ३१७ जना कार्यालय सहयोगी परिचालन गरिएको विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्