झापा, चैत १८ । जंगली हात्तीको समस्या खेप्दै आएका बिर्तामोड– ८ का हात्ती प्रभावित बासिन्दाहरुलाई बिर्तामोड नगरपालिकाको ८ नं वडा कार्यालयले टर्चलाइट वितरण गरेको छ ।

भेलागुडी सामुदायिक वन आसपास बसोबास भएका बिर्तामोड ८ का बासिन्दाहरुलाई हात्ती धपाउन सहयोग पुग्नेगरी टर्चलाइट वितरण गरिएको हो । सामाजिक कार्यमा सक्रिय बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको अग्रसरतामा ३८० परिवारलाई शनिवार टर्चलाइट वितरण गरिएको वडा कार्यालयले जनाएको छ । भेलागुडी टोल, किसनभिट्टा , स्कूलडाँडा , देउनिया पुल , सुकुम्वासी टोलका बासिन्दाहरुलाई टर्चलाइट वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए । उनले हात्तीको समस्या न्यूनीकरण गर्न सोलार वत्ती , सडक वत्तीको पनि व्यवस्था गरिएको जानकारी दिए । उनले वर्षौदेखि हात्तीको समस्या खेपिरहेका आफ्ना वडाबासीहरुको सुरक्षाका लागि विद्युतीय फेन्सिङको योजना ल्याउन लागेको बताए ।

टर्चलाइट वितरण कार्यक्रममा वडा सदस्यहरु सोयालाल राजवंशी , अग्नीप्रसाद सिटौला , इन्दिरा पाण्डे , लक्ष्मी नेपालीको पनि उपस्थिति रहेको थियो । टर्चलाईट वितरण गर्नका लागि वडा कार्यालयले पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो । सो बजेटबाट टर्चलाइट खरिद गर्न रिन्टु हस्दाको अध्यक्षतामा टर्चलाइट वितरण समिति गठन गरिएको थियो ।

भेलागुडी सामुदायिक वननजिकै दुई वर्षअघि हात्तीको आक्रमणबाट जयनारायण अधिकारीको मृत्यु भएको थियो । बिर्तामोड ८ मा अहिलेसम्म १२५ भन्दा बढी परिवारलाई हात्तीले क्षति पुर्याएको स्थानीय समाजसेवी अनिल गौतमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्