झापा , चैत्र १९ । सन् २०२३ को मार्च महिनामा नेपालमा झन्डै एक लाख पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा कुल ९९ हजार चार सय २६ जना पर्यटक भित्रिएका हुन् । यो संख्या अघिल्लो महिनाको तुलनामा २६ हजार एक सय ७१ जनाले बढी हो । गत फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक भित्रिएका थिए । सन् २०२३ को मार्च महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन् । मार्चमा २५ हजार नौ सय ११ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, अमेरिकाबाट ९ हजार पाँच सय ५७, बेलायतबाट ६ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९ र श्रीलंकाबाट तीन हजार आठ सय ९८ जना पर्यटक भित्रिएका छन् । नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन् । युरोपेली राष्ट्रहरूबाट २३.४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन् । सन् २०२३ को सुरुआतिदेखिको तथ्यांक हेर्दा पर्यटक भित्रने संख्या मासिक रूपमा बढ्दै छ । फेब्रुअरीको तुलनामा जनवरीमा नेपाल भित्रने पर्यटक संख्या कम थियो । जनवरीमा जम्मा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए । यस हिसाबमा पछिल्लो समय पर्यटक आगमको संख्यामा सुधार हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्