दमक, चैत १९ । प्रविधिमैत्री कृषि अभियानका लागि दमक नगरपालिकाले कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ ।

नगरभित्र रहेका कृषकहरुलाई समूहमार्फत पचास प्रतिशत अनुदानमा बिषादि छर्किने ईलेक्ट्रिक पावर स्प्रेयर र मकै छोडाउने मेशिन वितरण गरेको हो ।

नगरपालिकामा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराईले ती सामग्रीहरु कृषक समूहलाई हस्तान्तरण गरेका थिए ।सामग्री वितरण गर्दै नगरप्रमुख थापाले आर्थिक मन्दीका कारण सोचेजति सहयोग गर्न नपाए पनि भएसम्मको सहयोग उपलब्ध गराईएको बताए । यसअघि सरकारले दिएको अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको गुनासो आएपनि अहिले भने वास्तविक किसानहरु छनौट गरेर नै वितरण गरिएको उनले बताए । कार्यक्रममा नगर उपप्रमुख भट्टराईले कृषि सामग्रीसहित माटो परीक्षण, मल, बीउवितरणलगायतका सेवा समेत सञ्चालन गरेको भन्दै यसबाट लाभ लिन कृषकहरुलाई आग्रह गरिन् । कृषकहरुलाई समूहमार्फत १५ वटा पावर स्प्रेयर र २० वटा मकै छोडाउने मेशिन वितरण गरिएको नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिइन् । २३ हजार ५ सय रुपैयाँ पर्ने मकै छोडाउने मेशिन र ४ हजार ५ सय रुपैयाँ पर्ने पावर स्प्रेयर मेशिन पचास प्रतिशत अनुदानमा कृषक समूहलाई वितरण गरिएको उनले बताइन् ।

नगरपालिकाको आर्थिक विकास समिति संयोजक ईन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्