बिर्तामोड , चैत १९ । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ मा ८० थान त्रिपाल वितरण गरेको छ ।

शुक्रवार साँझ आएको हावाहुरीसहितको असिनापानीले घरको छाना उडाएर विचल्लीमा परेका ७० घरपरिवारलाई आइतवार राहतस्वरुप त्रिपाल वितरण गरेको हो ।
६० थान बिर्तामोड नगरपालिका र २० थान नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको सहयोगमा गरी ८० थान त्रिपाल विभिन्न टोलमा पुगेर वितरण गरिएको हो । पीडितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले त्रिपाल हस्तान्तरण गरिन् ।
नगर प्रमुख प्रसाईले तत्काल किनेर व्यवस्थापन गर्न नसक्नेहरुको लागि त्रिपाल वितरण गरिएको बताइन् । उनले कृषकको क्षतिको विवरण संकलन गरेर कृषि ज्ञान केन्द्रसंग समन्वय गरी आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिवद्घता समेत जनाइन् । नगर प्रमुख प्रसाईले आइतबार विहान वडा नम्बर २ का विभिन्न टोलमा पुगेर कृषिमा भएको क्षतिको अनुगमन गरेकी थिइन् । बिर्तामोड २ मा ७० वटा घर र ४२ वटा गाईगोठमा क्षति पुगेको छ । यस्तै ९० विगाहभन्दा बढी जग्गामा रहेको मकै तथा तरकारीवाली नष्ट भएको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिएका छन् । त्रिपाल वितरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, वडा सदस्यहरु ओमनाथ गौतम, चेतन विमलीलगायत स्थानीय विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्