झापा, चैत १९ । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाललाई झापाका दर्जनौ वस्तुगत संघहरुले समर्थन गरेका छन् ।

उनीहरु हेमराज ढकाल जिताउ अभियानमा खुलेर लागेका छन् ।
नेपाल चिया उत्पादक संघका पूर्व सचिव तथा हालका सदस्यसमेत रहेका ढकाल महासंघको चैत २८ र २९ गते काठमाडौैंमा हुन लागेको ५७ औं बार्षिक साधारणसभा तथा निर्वाचनमा वस्तुगततर्फबाट उपाध्यक्ष पदको उम्मेदवार बनेका छन् । नेपाल चिया उत्पादक संघले आइतवार बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा दर्जनौ वस्तुगत संघले ढकालको उम्मेद्वारीलाई समर्थन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा विषयगत समिति स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत रहेका ढकाललाई महासंघको उपाध्यक्ष (वस्तुगततर्फ) पदमा उम्मेद्वारीका लागि नेपाल चिया उत्पादक संघको कार्यसमितिको पूर्ण बैठकले सर्वसम्मत रुपमा सिफारिस गरेको संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बताए ।

करिब ३ दशकदेखि उद्योग–वाणिज्य एवम् विदेशी मुद्रा आर्जन गर्ने चिया, अलैंची, अदुवा, सुपारी, भेनियर, प्लाईउड, कुचो, रबरजस्ता कृषिजन्य वस्तुको आन्तरिक तथा निर्यात व्यापार प्रवर्द्धन, संरक्षण तथा यसमा आवद्ध किसान, व्यवसायी, निर्यातकर्ताहरुको समस्या समाधानमा पहल र पैरवी गर्दै आएका ढकाललाई महासंघको वस्तुगततर्फको उपाध्यक्षमा उभ्याइरहँदा यो प्रस्ताव यस संघको मात्र नभई झापालगायत पूर्वी क्षेत्रमा स्थापना भएका वस्तुगत संघलाई मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन झापाका वस्तुगत संघले सबै मतदातालाई आग्रह समेत गरेका छन् ।
महासंघ कोशी प्रदेश अध्यक्ष टीकाराज ढकाल, महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, तारानाथ घिमिरे, नेपाल अलैची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल सुपारी प्रशोधन तथा निर्यात संघका अध्यक्ष देवीप्रसाद खतिवडा, नेपाल भेनियर उत्पादक संघ अध्यक्ष दीपक पाण्डे, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ , नेपाल अदुवा उत्पादक संघका अध्यक्ष टोम राजवंशी, नेपाल इटा उद्योग महासंघ उपाध्यक्ष मदन मित्तललगायतले ढकाललाई समर्थन गर्दै जिताउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन पत्रकार गोपाल गिरीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्