झापा, चैत २० । नेपालसँग जोडिएका भारत तथा चीनका सीमा क्षेत्रमा देखिएका सीमासम्बन्धी समस्याबारे स्थलगत अध्ययन गर्नेगरी बिर्तामोडमा सीमा जागरण अभियान समिति गठन भएको छ ।

उक्त समितिले सोमवारबाट अभियान सुरु गरेको जनाएको छ । नेपाल – भारत मैत्री संघका केन्द्रीय अध्यक्ष एवम् कोशी प्रदेशका तत्कालीन प्रदेश एकका भूमि ब्यवस्था , गरिवी निवारण तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीले अभियानले थालनी गरेको कार्यको प्रशंसा गर्दै यसले दुई देशबीचको सीमा र त्यसबाट देखिएका समस्याको समाधान गर्नेमा मद्दत पुग्ने बताए । त्यस्तै झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले सीमा जागरण अभियानको मद्दतले भद्रपुरको उद्योग ब्यवसायलाई चलायमान बनाउन सहयोग पुग्नेमा आफू विश्वस्त भएको बताए ।

अभियानले भद्रपुर वडा प्रहरी कार्यालय र कचनकवल गाउँपालिकाका निवर्तमान अध्यक्ष अन्जरा आलमसँगको समन्वयमा सोमवार भद्रपुरको मेची पुलपारी र कचनकवल ५ स्थित पाठामारीको सीमा क्षेत्रमा पुगेर स्थलगत अध्ययन गरी स्थानीय तथा सरोकारवालाहरुसँग छलफल गरेको अभियानका सदस्य युगप्रसाद धमलाले बताए ।

यसरी नै अभियानले भारत र चीनका उत्तरी सीमासम्म पुगेर अध्ययन गर्ने र यसबाट तयार पारिएको प्रतिवेदन सम्बन्धित देशका उच्च अधिकारीसम्म पुर्याउने अभियानका संयोजक कुमार भट्टराईले बताए ।

खुल्ला सिमानाका कारण बिभिन्न गलत क्रियाकलापहरु बढेकोले यस अध्ययनले यसलाई कम गर्न मद्दत पुग्ने बताईएको छ । अभियानले थप अध्ययन सम्पन्न गरेपछि बिभिन्न निकायका सरोकारवाला एवम् संचारकर्मीहरुबीच अन्तरक्रिया एवम् छलफल गरिने बताईएको छ । अभियानको संयोजकमा भट्टराई तथा सदस्यहरुमा युगप्रसाद धमला , वीरेन्द्र दाहाल , वीरबहादुर दर्नाल , कृष्ण अनमोल , रेगन प्रसाई रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्