बिर्तामोड, चैत २० । शिवसताक्षी नगरपालिका, झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा झापा गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधि भिडन्त तय गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीका लागि एक मात्रै गोल श्रवण मल्लिकले गरे । ५६ औं मिनेटमा डि–एरिया नजिकबाट उनले गरेको प्रहार झापाका टिम कप्तान समेत रहेका गोलरक्षक गजेन्द्र थपलियाले बचाउ गर्न नसक्दा टिमले हार व्यहोर्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा ५६ मिनेटसम्म दुवै टिमले कुनै पनि स्कोर गर्न सकेका थिएनन् । त्यसपछि १–० गोल अन्तरले पछि परेको झापाले खेल बराबरी गर्ने थुप्रै प्रयास गरेपनि सफल हुन नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो ।

शिवसताक्षीको जितका लागि नायक बनेका मल्लिक खेलको म्यान अफ दी म्याच घोषित भए । उनले २५ सय नगद र ट्रफी पाए ।

त्यस्तै सोमवार नै भएको पहिलो सेमिफाइनलमा बाह्रदशी गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेको मेचीनगरले अब उपाधिका लागि शिवसताक्षीसंग भिड्ने छ ।

मेचीनगरको जितका लागि खेलको ९ र २५ औं मिनेटमा रोजित अलीले २ गोल गरे । उसका लागि टिम कप्तान विशाल जवेगुले थप एक गोल गरेका थिए ।बाह्रदशी गाउँपालिकाले भने मेचीनगरविरुद्ध कुनै पनि गोल गर्न सकेन ।

मेचीनगरका लागि २ गोल गर्ने रोजित अली खेलको म्यान अफ दि म्याच चुनिए । उनले २५ सय नगद र ट्रफी पाए ।

प्रतियोगिताको फाइनल खेल चैत २४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्