बिर्तामोड , चैत २२ ।शुक्रवार साँझ हावाहुरीसहित आएको असिनापानीबाट बिर्तामोडमा मात्र डेढ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली क्षति भएको छ ।

असिनापानीले बिर्तामोडको वडा नं २ र १० मा बढी क्षति पुर्याएको हो । बिर्तामोड २ मा करिव ११० विगाह , वडा नं १० मा १३० विगाह , वडा नं ९ मा ४० विगाह र वडा नं ८ मा करिव २० विगाह मकैबालीमा पूर्ण क्षति पुगेको बिर्तामोड नगरपालिकाको कृषि शाखाले जनाएको छ । बिर्तामोडका चारवटा वडामा भएका क्षतिको अनुमानित तथ्यांक निकालिएको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए । उनले राहतका लागि क्षतिको यकिन तथ्यांक निकाल्न सर्भे भइरहेको जानकारी दिए । उनले करिव २० विगाह तरकारी खेतीमा पनि क्षति पुगेको बताए ।

कृषि ज्ञान केन्द्र झापाले पनि बिर्तामोडमा डेढ सय हेक्टर मकैबालीमा क्षति पुगेको जनाएको छ । शुक्रवार साँझ आएको असिनापानीबाट झापामा सबैभन्दा बढी कन्काई नगरपालिकामा क्षति पुगेको छ । असिनापानीले कन्काई नगरपालिकामा २२ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा क्षति पुर्याएको छ । क्षति पुगेको कुल क्षेत्रफलमध्ये आधाजतिमा बालीनाली रहेको छ । कन्काईमा करिव ११४३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले बताए ।

त्यसपछि बिर्तामोड नगरपालिकामा क्षति पुगेको हो ।बिर्तामोडपछि हल्दिवारी २ र भद्रपुरको बजार क्षेत्रमा असिना परेको थियो । हल्दिवारी २ मा बालीनालीमा क्षति पुगेपनि भद्रपुरमा बजार क्षेत्र भएकाले क्षति नपुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । असिनापानीले पुर्याएको क्षतिको तथ्यांक निकाल्न ती पालिकामा सर्भे भइरहेको छ । करिव डेढ वर्षअघि २०७८ को कात्तिकमा आएको हावाहुरीबाट धानबालीमा भएको क्षतिको क्षतिपूर्ति किसानहरुले अझैसम्म पाएका छैनन् । त्यसबेला बिर्तामोड नगरपालिकाका २ हजार ९१५ किसानको २ करोड ४७ लाख ३० हजार मूल्य बराबरको क्षति भएको विवरण राहतका लागि पठाइएको थियो । त्यस्तै कृषि ज्ञान केन्द्रले जिल्लाभरिका किसानको ३७ करोड ६४ लाखको क्षतिपूर्ति विवरण पठाएको कार्यालय प्रमुख विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्