झापा , चैत्र २३ । नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ ।

चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा. हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताए । भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उनको भनाइ छ । “भारतमा देखिएअनुसार नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको देखिँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ”, उनले भने । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताइन् । “यो डेल्टा भेरियन्टभन्दा कम घातक छ”, उनले भने, “नयाँ भेरियन्टले मानिसमा भने चाँडै फैलिन सक्छ ।” उनले छिटो फैलिने भएकाले सर्तकता अपनाउन आग्रह गरिन् । नयाँ भेरियन्टबाट संक्रमितमध्ये हालसम्म चारजना अस्पतालमा भर्ना भएको उनले बताए । जसमध्ये तीनजना घर फर्किसकेको तथा एकजना उपचाररत रहेको उनको भनाइ छ । नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्