झापा , चैत्र २३ । सिक्किम र पश्चिम बंगालसँग सिमाना जोडिने पाँचथरका उच्च पहाडी एवं हिमाली क्षेत्रमा चैत लागेपछि आठ पटक हिउँ परिसकेको छ ।

हिमालमा चौंरी ब्याउने समय अहिले भएकाले हिउँ पर्दा स्याहारकर्ता किसानहरूको दैनिकी असहज बनेको छ । हिउँदभर एक पटक नपरेको हिउँ बेसिजनमा धमाधम परिरहँहदा यस क्षेत्रका किसानलाई गर्भवती चौंरीको चिन्ता भएको छ । ‘हिउँदभर हिउँ देख्नै पाइएन, चैत लागे पछि दैनिक जस्तो परिरहेको छ,’ फालौटका चौंरीपालक चन्द्रलाल नेपालले भने, ‘चौंरीलाई स्याहार्नै गाह्रो ।’ उनका अनुसार चैत ६, ७, १०, १३, १४, १७, १८ र २० मा यहाँ हिमपात भइसकेको छ । बेमौसमी हिमपातले तीन सिमाना, फालौट, चारराते, सन्दकपुर, आहाल र नेपालटार जस्ता स्थानका चौंरी पालकको दैनिकी असहज बनेको उनले बताए । ‘कात्तिकदेखि फागुनभित्र परेको हिउँलाई सिजनको, त्यसपछिको लाई बैमौसमी भन्छौं, चौंरी गाई ब्याउने र गर्मी सुरु हुने भएकाले फागुन १५ पछिको पर्ने हिउँ बेमौसमी हो,’अर्का चौंरीपालक जङ्ग राईले भने । फागुनदेखि जेठभित्र प्रायः गोठका चौंरी ब्याउँछन् । क्षणक्षणमा मौसम परिवर्तन भइरहेकाले खर्कमा गएका चौंरी गोठ फर्कन नपाउँदै ब्याउने गरेको नेपालले बताए । स्थानीयका अनुसार हिउँ पर्न थालेपछि मात्रै यस क्षेत्रका १७ वटा चौंरी ब्याइसकेका छन् । ‘खर्क गएका गर्भवती चौंरी साँझसम्म गोठ नफर्के समसाँझै खोज्न जानुपर्छ, ढिला भए बाच्छाबाच्छी वन्यजन्तुले खाने वा मर्ने संभावना रहन्छ,’उनले भने,‘खर्कमै ब्याएका चौंरी स्याहार्न चुनौतीपूणर् हुन्छ ।’ स्थानीयका अनुसार यो सिजनमा जतिसुकै हिउँ परे पनि गर्मी चढेकाले पग्लिइ हाल्छ । त्यसकारण जाडो भने पुस-माघको हिमपातमा जस्तो हुँदैन । स्थानीयका अनुसार पाँचथरको फालेलुङ गाउँपालिकाका उच्च पहाडी र हिमाली क्षेत्रका ३० र याङवरकका १३ गोठमा चौंरी पालिएको छ । चौंरी हिउँ पर्ने हिमालमा मात्रै रमाउने प्रजातिमा पर्छ । चौंरीले जस्तोसुकै जाडो पचाउन सक्छ तर गोठालाहरूको दिनचर्या भने हिउँ परेपछि गाह्रो बन्दै जान्छ । यस वर्ष कात्तिकदेखि फागुनसम्म एक पटक नपरेको हिउँ चैतमा निरन्तर परिरहँदा दैनिकी कष्टकर बनेको चौंरीपालकहरू बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्