झापा , चैत्र २६ । कोशी प्रदेशको राजधानी विराटनगरमा विश्वमै दुर्लभ मानिने नयाँ प्रजातिको माछा भेटिएको छ ।

विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा ‘एमब्लिसेप्स वाईखोमी’ प्रजातिको माछा फेला परेको हो । उक्त माछा नेपालमै पहिलोपटक भेटिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार २०७८ मङ्सिरदेखि ०७९ असोजसम्म झापा र मोरङका ५ वटा नदीमा खोज तथा अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा पञ्जिकरण गरिएको हो । विराटनगरका जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरु जीनक्वान याङ र चेनहोङ लीको समूहले उक्त माछा रेकर्ड गरेका थिए । माछा विराटनगरको दक्षिणी भेग जहदा पुल र बुधनगर गरी दुईवटा अध्ययन बिन्दुहरुमा फेला परेको थियो । उनीहरुले पत्ता लगाएको रिपोर्ट अक्टोबर ५, २०२२ मा इन्टरनेशनल जर्नल अफ जुलोजी पठाएका थिए । पछिल्लोपटक नोभेम्बर ५, २०२२ मा उक्त रिपोर्ट परिमार्जन भएको थियो। र २०२३ अप्रिल १ मा स्वीकृत भएर शनिबार प्रकाशित भएको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार एमब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एशियातिर विरलै पाइन्छ । सन् २०१६ मा भारतको अरुणाञ्चल प्रदेशमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीमा उक्त माछा पहिलोपटक रेकर्ड गरिएको थियो । यसको जनसंख्या अत्यन्तै न्यून र जताततै नपाइने भएकाले धेरै विवरण उपलब्ध नरहेको प्रमुख अनुसन्धानकर्ता जसहाङ लिम्बूले बताए । अनुसन्धानको अवधिमा सिंघिया नदीमा पनि न्यून मात्रामा उक्त माछा भेटिएको उनले जानकारी दिए । ‘यो माछा निकै सानो हुन्छ । यसको लम्बाइ ४ देखि ९ सेन्टिमिटर र तौल ३० ग्रामभन्दा कम हुन्छ,’ उनले भने, ‘यसको आनीबानी, आहारबिहार र प्रजनन् लगायतको विषयमा हाल अध्ययन भएको छैन । यसबाट मानिसले के-कति फाइदा लिन सक्छन् भन्ने विषय पनि यकिन गर्न सकिएको छैन।’

यद्यपि, सिंघिया नदीको पानीको भौतिक तथा रासायिनक विशेषता परीक्षणको आधारमा उक्त माछा कस्तो जलीय वातावरणमा बस्दो रहेछ भन्ने विषय भन्ने खुलेको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुका अनुसार एमब्लिसेप्सका जम्मा २६ वटा प्रजाति विश्वमा छन् । अघिल्लो वर्षमात्रै यसको २६ औं प्रजाति पत्ता लागेको थियो । नेपालमा हालसम्म २७० प्रजातिका माछा पत्ता लागिसकेका छन् । कोशी प्रदेशको मोरङ जिल्लामा पाइने ११८ प्रजातिमध्ये ६२ प्रजातिको माछा भने सिंघिया नदीमा मात्र पाइन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्