झापा , चैत २७ । गत फागुन १९ गते नेकपा एमाले जिल्ला कमिटी झापाकी उपसचिव तथा भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठले पार्टी परित्याग गरिन् । उनीसंगै प्रदेश कमिटी सदस्य पदम थापा , ३ नं क्षेत्रीय सदस्य सज्जाद आलम र हवालोदिन मियाले पनि एमाले परित्याग गरे ।त्यसको करिव एक महिनापछि चैत २७ गते सोमवार एमालेका केन्द्रीय सल्लाहकार तथा पूर्व पोलिटव्युरो सदस्य नरेश खरेल पनि एमालेबाट बाहिरिए । नेता खरेलसहित नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीमप्रसाद लुईटेलले पार्टी परित्यागको घोषणा गरे ।

खरेल बाहिरिनुअघि यसबीचमा गत निर्वाचनमा झापा ३ मा नेकपा एमालेका प्रदेश सभाका उम्मेदवार बसन्त बानियाका कमान्डर मानिने भक्त लामिछाने र राजकुमार राजवंशीले पार्टी छोडिसकेका थिए । उनलाई एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य डम्बर गिरीले आफ्नो पार्टीमा प्रवेश गराए । यसरी यतिबेला एमाले नेताकार्यकर्ताले पार्टी छोड्ने क्रम बढेको छ । पार्टीले कार्वाही गर्ने भएपछि एमाले परित्याग गरेकी श्रेष्ठकै कित्तामा नेता खरेल पनि तानिएका छन् । खरेलले पार्टी परित्यागको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठ पनि संगै रहेकी थिइन् । त्यस कार्यक्रममा एकीकृत समाजवादी झापाका संचार विभाग प्रमुख तीर्थ सिग्देल पनि सहभागी थिए ।

फागुनमा श्रेष्ठले पार्टी छोड्दा अन्यलाई पनि साथै लिएर बाहिरिने योजना बनाएकी थिइन् । तर, केहीले मात्र श्रेष्ठसंगै पार्टी छोडे ।त्यस्तै सोमवार खरेलले पार्टी छोड्ने बेलामा आफूनिकट एमालेका नेताहरुलाई संगै पार्टी छोड्न प्रस्ताव गरेका थिए । आफूलाई पनि खरेलले एमाले परित्याग गर्न प्रस्ताव गरेको तर तत्काल पार्टी छोड्ने मनस्थिति नबनाएको एक प्रदेश कमिटी सदस्यले बताए ।

एमाले परित्याग गर्नेक्रममा नेता खरेलले अध्यक्ष केपी ओलीको स्वेच्छाचारिताका कारण अन्य धेरै नेताकार्यकर्ताहरुले पार्टी छोड्ने दावी गरे । उनले आफ्नी श्रीमती पवित्रा निरौला खरेल अहिले अष्ट्रेलियामा रहेकाले त्यहाँबाट फर्केपछि पार्टी छोड्ने विषयमा सल्लाह हुने बताए ।

खरेल झापा विद्रोहका एक हस्ती हुन् । जसले १६ वर्ष ६ महिना जेल जीवन बिताएका थिए, अनि दुई वर्ष भूमिगत जीवन पनि । उनी बराबर जेल जीवन बिताएका घनेन्द्र बस्नेत चाहिँ उतिबेला नै एकीकृत समाजवादीतिर लागे । एमालेमै रहने मनसाय बनाएका ६९ वर्षीय खरेल चाहिँ एमाले केन्द्रीय समितिमा अटाएनन् । खरेल २०७० मा एक पटक संविधानसभा सदस्यसम्म भए । त्यसभन्दा बढी आफूलाई सुविधाको पद नमिलेको उनले गुनासो गर्दै आएका थिए ।

तर, उनकी श्रीमती पवित्रा निरौला खरेल यसअघिको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं २ बाट सदस्यमा निर्वाचित भएकी थिइन्् । सांसदसंगै उनी अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पनि भइन् । निरौला नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एवम् अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य थिइन् । २०६६ सालमा एमाले झापा जिल्ला कमिटी सचिव भएर जिम्मेवारी सम्हालिसकेकी निरौलासंग जिल्ला विकास समितिको मनोनित सदस्य भएर काम गरेको अनुभव पनि छ।

‘नेतृत्व आफ्ना गल्ती कमजोरी सुधार गर्दै पार्टीलाई एकतावद्ध पार्नुको सट्टा अझ निरंकुश बन्ने र फरक मत राख्ने नेता कार्यकर्तामाथि अपमान गर्ने काममा तल्लिन भयो । पार्टीमा इमान्दार नेता कार्यकर्ताहरुलाई पाखा लगाउने र दक्षिणपन्थी र यथास्थितिवादी शक्ति र व्यक्तिसंगको साँठगाँठ अझ दरिलो बन्दैछ ’ उनले भने ,‘यस्ता गतिविधिहरु टुलुटुलु रमिता हेर्न हामीले उचित ठानेनौ । त्यसैले नेकपा (एमाले)मा लामो समयसम्म योगदान गरेका तर पार्टीका गलत क्रियाकलापसंग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहने घोषणा गर्दछौं ।’

उनले नेपालको कम्युनिष्ट आन्दोलनका उपलब्धि र कमजोरीहरुको सही ढंगले मुल्याङ्कन गर्दै आ–आफ्ना गल्ती कमजोरीहरुप्रति आत्माआलोचित हुदै अघि बढ्नसके वामआन्दोलनलाई नयाँ धरातलबाट उठाउन सकिने बताए । यसको निम्ति विगतमा भएका कमिकमजोरीहरुलाई महसुस गरी त्यसबाट शिक्षा लिदै एकताबद्ध भई बहुसंख्यक जनताको समर्थन प्राप्त गर्दै लोकतान्त्रिक प्रणालीबाट प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न राष्ट्रिय पूँजीको विकासको बाटोबाट जनतालाई श्रम, उत्पादन र रोजगारसँग जोड्दै समाजवादका आधार निर्माण गर्ने कार्यदिशा समात्नु नै आजको बाम आन्दोलनको एकताको वैचारिक आधार बन्न सक्ने उनको बुझाइ छ ।

तत्काललाई स्वतन्त्र रहने घोषणा गरेका एमाले छोड्ने सबैजना एकीकृत समाजवादीको सम्पर्कमा छन् । उपयुक्त समय मिलाएर उनीहरुलाई पार्टी प्रवेश गराउने एकीकृत समाजवादीको तयारी रहेको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्