झापा, चैत २७ । अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनमा झापाबाट केन्द्रीय उपाध्यक्षसहित चारजना निर्वाचित भएका छन् ।

झापाबाट केन्द्रीय उपाध्यक्षमा मेनुका काफ्ले, केन्द्रीय सदस्यहरुमा सुमित्रा भण्डारी ,टीका बस्नेत घिमिरे र अम्बिका खवास राजवंशी सर्वसम्मत चयन भएका हुन् ।
नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व छनोट भएको हो । टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
सम्मेलनबाट उपाध्यक्षमा शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा बिसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन् । महासचिवमा पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी चयन भएका छन् । ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल चयन भएका छन् । कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएका छन् ।

जहानियाँ राणाशासनको अन्त्यलगत्तै अर्थात् २००८ साल फागुन २४ गते स्थापना भएको अखिल नेपाल महिला संघको २०५५ साल पौष ११–१३ विराटनगरमा सम्पन्न चौथो सम्मेलनबाट विद्यादेवी भण्डारी अध्यक्ष निर्वाचित भएकी थिइन् ।

२०६२ साल मंसिर २१ देखि २५ गतेसम्म काठमाडौंमा सम्पन्न अनेमसंघको पाँचौ राष्ट्रिय सम्मेलनबाट पनि भण्डारी नै अध्यक्षमा निर्वाचित भइन् । २०६९ साल बैशाखमा पोखरामा अनेमसंघको छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।

उक्त सम्मेलनबाट पनि भण्डारी नै अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनको नेतृत्वमा १२५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो । एमाले उपाध्यक्ष समेत रहेकी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुँदै दोस्रो कार्यकाल पनि सम्पन्न गरेर विदा भैसकेकी छन् ।

तर, उनी निर्वाचित भएपछि अनेमसंघको निर्वाचन हुन सकेको थिएन । उनी राष्ट्रपति निर्वाचित भएपछि गोमा देवकोटा कार्यवाहक अध्यक्ष अध्यक्ष बनिन् । त्यसपछि सीता पौडेल अनेमसंघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी संयोजक बनेकी थिइन् । तर, त्यतिबेला पनि सम्मेलन हुन सकेन । त्यसपछि फेरि थममाया थापा संयोजक बनिन् । सम्मेलन भएको १० वर्षपछि अर्थात चैत २५ देखि २७ सम्म अनेमसंघले आफ्नो सातौं सम्मेलन काठमाडौंको प्रज्ञाभवनमा सम्पन्न गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्