झापा, चैत २८ । सन्थाल महिलाहरुलाई कामुक देख्ने पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सार्वजनिक रुपमा माफी माग्न सन्थाल समुदायले चेतावनी दिएका छन् ।

उनीहरुले ओलीले बोलेको शव्द फिर्ता लिएर सार्वजनिक रुपमै माफी माग्नुपर्ने चेतावनी दिएका हुन् । ओलीले चैत १९ र२० गते राजधानीमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको दोस्रो महाधिबेशनमा सन्थाल महिलाहरु पहिरनले कामुक देखिने गरेको भन्दै सिंगो सन्थाल जातिकै उपहास गरेका थिए । उनले भनेका थिए ‘हाम्रा गाउँका सतार महिलाहरु जुन पहिरन लगाउनु हुन्छ, त्यो टिभिमा ल्याएर देखाउने हो भने वाह क्या बोल्ड सिन भनेर उधुमै मच्चिन्छ एउटा गाम्छा यसो बेरेको हुन्छ । माथि एउटा हालेको हुन्छ, क्या बोल्ड सिन यतै देखिएको छ, उतै देखिएको छ ।’

ओलीको त्यस हेपाहा अभिव्यक्तिप्रति सन्थाल समुदायले तीब्र आपत्ति जनाउँदै माफी नमागे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । नेपाल संथाल आदिवासी उत्थान संघ, रिलोमाला संथाली अखडा, नेपाल संथाल विकास संघ, नेपाल संथाल महिला उत्थान संघ र संथाल जाति उत्थान सेवा समाजले मंगलवार बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलन गरी ओलीले झापा र मोरङबाट सन्थाल प्रतिनिधिहरुको समेत उपस्थिति रहेको कार्यक्रममा व्यक्त गरेको अभिव्यक्तिप्रति सम्पूर्ण सन्थाल समुदायको मानहानी भएको ठहर गरेका छन् ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा अन्तर्राष्ट्रिय सन्थाल परिषदका उपाध्यक्ष मोहन टुडूले सन्थाल महिलाको पोशाकप्रति अनविज्ञ भएर ओलीले मान्छे हसाउँने र सिंगो सन्थाल समुदायको भावनामा ठेस पुर्याउने हर्कत गरेको बताए । उनले ‘सतार’ शव्दको सट्टा ‘सन्थाल’ प्रयोग गरिनु पर्छ भनेर आफूहरुले विगत एक वर्षदेखि आन्दोलन गरिरहँदा राज्यको सबैभन्दा उपल्लो पदमा पुगेका ओलीले नै सतार भनेर होच्याउनु र सन्थाल महिलालाई कामुक देख्नु अत्यन्त भत्र्सनायोग्य र निन्दनीय भएको बताए । उनले ओलीको त्यस अभिव्यक्तिको अन्तर्राष्ट्रिय सन्थाल परिषदले खण्डन गरिसकेको जानकारी दिए ।

नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले आदिवासी समुदायलाई हेपेर ओलीले त्यस्तो अभिव्यक्ति दिएको र आफूहरुको जातीय भेषभूषा र संस्कृतिमाथि विषवमन गरेको आरोप लगाए । आदिवासीलाई हेप्ने र दमन गर्ने ओलीको प्रवृति निन्दनीय भएको भन्दै अध्यक्ष चौधरीले महासंघले यस विषयलाई कोशी प्रदेश पुनः नामकरण संघर्षको आन्दोलनमा संगै लिएर जाने बताए । ‘ओलीले शव्द फिर्ता लिएर मात्र हुँदैन’उनले भने,‘माफी माग्नु पर्छ नत्र आन्दोलनसंगै कानुनी उपचारमा पनि जान्छौं ।’

नेपाल सन्थाल विकास संघका अध्यक्ष बडाराम हेमरमले सन्थाल जातिको बारेमा त्यसरी होच्याएर बोल्ने अधिकार ओलीलाई नभएको भन्दै उनीसंगै सोम मर्डीजस्ता सन्थालहरु संगै जेल जीवन बिताएको घटना स्मरण गर्न सुझाए ।‘अति सीमान्कृत जाति सन्थाललाई राज्यले संरक्षण संवद्र्धन गर्नुको सट्टा होच्याउने अनि खिल्ली उडाउने काम ठीक भएन’ उनले भने,‘ पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिले नागरिक सरह व्यवहार नगरी हेपेकोमा घोर निन्दा गर्दछौं ।’

रिलोमाला संथाली अखडाका अध्यक्ष रिमिल श्याम सुन्दर बेस्राले नेपालमा बसोबास गर्ने सबै १२७ जाति र १२३ भाषी समान भएको भन्दै ओलीले सम्पूर्ण सन्थालहरुको भावनामा ठेस पुर्याएको धारणा राखे । नेपाल संथाल आदिवासी उत्थान संघका महासचिव कुन्दन मुर्मूले गरिव विपन्न भएपनि कुनै पनि जाति समुदायका बारेमा अब आइन्दा त्यसरी हेपेर नबोल्न चेतावनी दिए । उनले नेपाली शव्दकोषमा ‘सतार’ शव्दको अर्थ नराम्रो भएकाले त्यसको सट्टा ‘सन्थाल’ शब्द प्रयोग गर्न गराउनका लागि आफूहरुले विगत एक वर्षदेखि आन्दोलन गर्दै आएको बताए । कार्यक्रममा उपस्थित नेपाल संथाल आदिवासी उत्थान संघकी नगर सचिव निताई सोरेनले सार्वजनिक कार्यक्रममा सन्थाल महिलाहरुको बारेमा अपशव्द बोल्ने ओलीलाई ढुंगा हान्नुपर्ने प्रतिक्रिया दिइन् ।

नेपालको झापा, मोरङ र सुनसरीमा आदिमकालदेखि बसोवास गरेका सन्थाल समुदायको २०६८ को जनगणना अनुसार ५१ हजार ७३५ जनसंख्या रहेको छ । सन्थाल समुदायको आफ्नै मौलिक भाषा, लिपि, साहित्य र संस्कृति भएको हुँदा आदिवासी जनजातिमा सूचीकृत भएका छन् । सन्थाल महिलाहरु लुङ्गी, पन्ची पालहाट, पेटीकोट, साडी चोलो आदि लगाउने गरेका छन् भने पुरुषहरुको लागि पन्ची धोती, आङ्गरप (कर्ता) दाड्ही (गम्छा) आदि रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्