झापा , चैत २९ । हात्ती प्रभावित झापाको बाहुन्डाँगीमा मानव–हात्ती द्वन्द्व घटाउने प्रयास थालनी गरिएको छ ।

हात्तीलाई सखाप पारेर समस्याको समाधान नहुने भएकाले मानव–हात्ती सहअस्तित्व कायम गरी पर्यावरणमैत्री वातावरण बनाउन विभिन्न कार्यक्रम शुरु गरिएको हो । केही दिन अघिदेखि मानव–हात्ती द्वन्द्व घटाउन संयुक्त गस्ती शुरु गरिएको छ । दुवै देशमा रहेका र्यापिड रेस्पोन्स टिम (आरआरटी) ले संयुक्त गस्ती गरिरहेको जनाइएको छ ।त्यस्तै मानव हात्तीबीच सहअस्तित्व कायम गराउनका लागि बुधवारदेखि तीनदिने तालिम संचालन गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोग , मेचीनगर नगरपालिका ४ न. वडा कार्यालयको सहआयोजना तथा ग्रीन जेनेरसनको आयोजनामा बुधवारदेखि बाहुन्डाँगीमा तालिम शुरु भएको हो । तालिमका सहभागीहरुलाई हात्ती र मानिस संगै बाँच्नु पर्छ भन्ने ज्ञान दिन खोजिएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै पर्यटन अभियन्ता सुप्रितम राज वसुले मानवमा चेतनाको स्तर कमी हुँदा हात्तीलाई मार्नु पर्छ भन्ने सोच आउने गरेकाले मानव र हात्ती दुवै प्रकृतिका जनावर हुन् भन्ने सोचको विकास गरिनुपर्नेमा जोड दिए । उनले प्रकतिको हरेक चिजमा मानिसजत्तिकै हात्तीको पनि अधिकार रहेको बताए । कार्यक्रममा बोल्दै मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले हात्ती जहिल्यै असुरक्षित रहेको र संयोगवश जम्काभेट हुँदा मात्र हात्तीबाट मानवीय क्षति हुने गरेको उल्लेख गर्दै हात्तीलाई संरक्षण गर्ने दायित्व मानिसकै भएको बताए । उनले हात्तीबाट हुने क्षतिको क्षतिपूर्ति दिनसके मानव र हात्तीबीच सहअस्तित्व बन्नसक्ने तर्क राखे । क्षतिपूर्ति दिनका लागि १ करोडको कोष स्थापना गर्न लागेको उनको भनाई छ ।कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी निर्मल थापा ,सामाजिक व्यक्तित्व सागर शिवाकोटी , एमालेका प्रतिनिधि तीर्थ नेपाल , माओवादी केन्द्रका मेघराज खड्कालगायतले पनि मानव हात्तीबीच सहअस्तित्वका लागि वातावरण तयार गरिनुपर्नेमा जोड दिए । ग्रीन जेनेरेसनका अध्यक्ष समीर राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव मंजिल देवानले गरेका थिए ।तालिममा नेपाल र भारतका रेपिड रेस्पोन्स टीमका प्रतिनिधिहरु , सशस्त्र प्रहरी , जनपद प्रहरी, नगर प्रहरी र स्थानीय गरी ६० जनाको सहभागिता रहेको छ । तालिममा पर्यटन अभियन्ता सुप्रितम राज वसु , बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेशकुमार थापा , पत्रकारहरु डा. अखिलेश उपाध्याय , घनश्याम खड्का ,शंकर क्षेत्री , वडाध्यक्ष कार्कीलगायतले सहजीकरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्