भद्रपुर, चैत ३० । सिरूवा पर्वको अवसर पारेर भद्रपुरमा आदिवासी राजवंशी संग्रहालयको निर्माण थालिने भएको छ ।

भद्रपुर ६ मा ७ कठ्ठा क्षेत्रफलमा ५ करोड बढी लगानीमा पूर्वी तराईका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी संग्रहालय निर्माण गरिने भएको हो ।

भद्रपुर नगरपालिकाभित्र क्रियाशील आदिवासी राजवंशी भाषिक साँस्कृतिक विकास प्रतिष्ठान, राजवंशी समाज विकास समिति, राजवंशी समाज कल्याण समिति र कोचिला एकता जागरण समितिले संयुक्त पत्रकार सम्मेलन गर्दै संग्रहालयका लागि भद्रपुर नगरपालिकाले यस वर्ष २० लाख रकम विनियोजन गरेकाले पहिलो चरणको निर्माण कार्य थालनी गर्न लागिएको जानकारी दिएका छन् ।

सबै संस्थाको साझा नेतृत्व गरिरहेका आदिवासी राजवंशी साँस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलारामसिंह राजवंशीका अनुसार संग्रहालयमा राजवंशी जातिको पहिचानको रूपमा रहेका तर वर्तमानमा लोप भइसकेका, लोप हुन लागेका चुवारी घर, बंगला घरदेखि भेषभुषा, रहनसहन, संस्कार संस्कृतिसम्मका विविध पहिचान संग्रहित हुनेछन् ।
उनका अनुसार कोशी प्रदेशकै आकर्षक संग्रहालय बनाउन ५ करोड बढी खर्च लाग्ने छ भने स्रोतका रूपमा स्थानीय, प्रदेश र संघीय सरकारदेखि विभिन्न दातासम्म जुटाएर ५ वर्षभित्र निर्माण सम्पन्न गरिने छ ।

कार्यक्रममा भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशीले जाति, भाषा, संस्कार, संस्कृतिको पहिचानले देशप्रतिको अपनत्व बढेर जाने भन्दै एउटै उद्देश्य बोकेका सबै संस्था एक ढिक्का भएर संग्रहालय निर्माण हुने विश्वास व्यक्त गरे ।

राजवंशी समाज विकास समितिका अध्यक्ष जगनलाल राजवंशीले विगतमा विभिन्न संस्थामा विभक्त भएर पनि संस्कार, संस्कृतिको पहिचान र सुरक्षाका लागि सिरूवा पावनीलगायत कार्यक्रम गरिदै आएको भए पनि यस वर्षबाट एउटै मञ्चमा उभिएर पर्वहरू मनाउने प्रतिबद्धता व्यक्त गरे ।

हरेक वर्ष बैशाख १ गतेदेखि ३ गतेसम्म विभिन्न नाममा भिन्नाभिन्नै मनाइदै आएको सिरूवा पर्व यस वर्षदेखि भद्रपुरमा एउटै मञ्चबाट मनाइने प्रतिबद्धता समेत गरिएको थियो ।
राजवंशी समाज कल्याण समितिका पवन राजवंशी, कोचिला एकता जागरण समितिका विजयकुमार राजवंशी, राजवंशी विकास समितिका सन्तोष राजवंशी, नन्दकुमार राजवंशीलगायतले भद्रपुरमा सबै राजवंशी संस्थाहरू जातीय पहिचान संरक्षणका लागि एक ढिक्का रहेको प्रष्ट पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्