झापा, बैशाख १ । महालेखा परीक्षकको कार्यालयले दमकमा निर्माण भएको भ्युटावर सञ्चालनको कार्यविधि र लगानीको प्रतिफल सुनिश्चितता अध्ययन नभएको जनाएको छ ।

बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा ललितपुरको गोदावरी र बुटवलमा बनाइएको सभाहल र दमकमा बनाइएको भ्युटावरबाट प्रतिफल सुनिश्चितता नगरिएको उल्लेख गरिएको हो ।

प्रधानमन्त्री भएकै बेला केपी शर्मा ओलीले आफ्नै निर्वाचन क्षेत्र दमकमा १८ तले भ्युटावर बनाउन सुरु गरेका थिए । निर्माणाधीन टावरको पश्चिममा टुकुरे सुकुम्बासी बस्ती छ । राज्य कोषको डेढ अर्बभन्दा बढी लागतमा भ्युटावर सम्पन्न भएपछि १८ तलामाथिबाट देखिने नजिकको दृश्य नै यही बस्ती हो । वि.सं. २०२२ देखि बसोबास गरिरहेका सय परिवार अहिलेसम्म लालपुर्जाविहीन छन् ।
दमक नगरपालिकाको दापगाछीमा रहेको ५ बिघा जमिनमा ७२ मिटर उचाइको १८ तले भ्युटावर निर्माणाधीन रहेको छ । महालेखाको प्रतिवेदनअनुसार अन्डरग्राउन्ड पार्किङसहितको सुविधासम्पन्न भ्युटावर निर्माण गर्न २०७८ पुस २७ भित्र सम्पन्न गर्ने गरी २०७६ असार २७ मा १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँको सम्झौता भए पनि तोकिएको समयमा काम नसकिएकाले २०८० असार २७ सम्म म्याद थप भएको छ ।

उक्त निर्माण कार्यको दोस्रो भेरिएसनसम्म रू. १० करोड २७ लाख ८१ हजार थप भई संशोधित सम्झौता १ अर्ब ६६ करोड ४२ लाख २० हजार रुपैयाँ कायम भएको छ । महालेखाले यो वर्षसम्म १ अर्ब ४ करोड ४९ लाख १६ हजार भुक्तानी भएकोमा भौतिक प्रगति ७० प्रतिशत तथा वित्तीय प्रगति ६३ प्रतिशत रहेको जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्