बिर्तामोड, बैशाख २ । बिर्तामोड नगरपालिका वडा नम्बर २ को वडा खेलकुद विकास समितिले आयोजना गरेको ‘खेलकुद महोत्सव’ अन्तर्गत फुटबल प्रतियोगितामा साविक चारपाने गाविसको वडा नं ८ ले उपाधि जितेको छ ।

साविक चारपाने गाविस वडा नम्बर ७ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नं ८ ले उपाधि जितेको हो । उपाधिसँगै बिजेता टिमले नगद १५ हजार पुरस्कार र ट्रफी प्राप्त गर्यो । फाइनलमा पुगेको वडा नं ७ ले १० हजारमा चित्त बुझायो । अनुशासित टिम घोषित हुँदै वडा नं ६ ले नगद ५ हजार पुरस्कार पायो । अन्य ब्यक्तिगत पुरस्कारमा वडा नं ८ नै हावी भयो । महिला फुटबल प्रतियोगितामा सगरमाथा समूहले जित हासिल गरेको छ । सगरमाथा समूहले पाथिभरा समूहलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै जित हात पारेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । बिजेता टिमले ३ हजार र उपबिजेता टिमले २ हजार पुरस्कार पाएको छ ।

महोत्सवअन्तर्गत भएको भलिबल प्रतियोगितामा साविक वडा नम्बर ४ ले जित हासिल गरेको छ । वडा नम्बर ५ लाई पराजित गर्दै ४ ले उपाधि हात पारेको हो । उपाधिसंगै वडा नं ४ ले नगद १५ हजार पुरस्कार र ट्रफी प्राप्त गर्यो । उपबिजेता वडा नं ५ ले १० हजार रुपैयाँ प्राप्त गर्यो ।

क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ४ ले नै हात पार्यो । क्रिकेट प्रतियोगिताको उपाधिको दावेदार मानिएको वडा नं ३ ले उपबिजेताको रुपमा चित्त बुझायो । वडा नं ४ ले नगद १५ हजार तथा उपबिजेता वडा नं ३ ले नगद १० हजार पुरस्कार पाए ।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेबसिंह गोम्देनको बिशेष आतिथ्यता रहेको थियो । वडा खेलकुद विकास समितिका अध्यक्ष कमला लिम्बूले नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताइन् । उनले वडास्तरबाट खेलकुदको यस प्रकारको गतिविधि हुन सकेमा खेललाई ब्यवसायिकता दिन सकिने धारणा राखिन् । कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्