हल्दीबारी , बैशाख ३ । जलथल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ।

निर्वाचन तालिका अनुसार आज आइतवार मतदाता नामावली प्रकाशन, ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने चुनाबको मिति बैशाख ११ गते सोमवार तोकिएको निर्वाचन समितिका सदस्य देवी ओलीले जानकारी दिए।

आर्थिक रूपमा भर्खरै बामे सर्दै गरेको समिति अहिलेको अबस्थामा चुनाबमा जानु खर्चिलो र अव्यवहारिक भएको स्थानीय सिताराम खरेल बताउँछन् । चुनाब गराउँदा ७÷८लाख खर्च हुने र सर्वसम्मत नेतृत्व चयन गर्न सकेको खण्डमा संस्थालाई बोझको भारबाट बचाउन सकिने उनको भनाई छ।

वर्तमान अबस्थामा जलथल खानेपानीको नेतृत्व त्यति सहज छैन । किनभने समयअनुसार विधान संशोधन गरिएको छैन । संस्थाको हालको विधानमा ठाउँठाउँमा ‘श्री ५ को सरकार’ भन्ने शब्द भेटिन्छ ।२०६२÷०६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाले ‘श्री ५ को सरकार’को सट्टा ‘नेपाल सरकार’ लेख्ने निर्णय गरेको थियो । पुनःस्थापित संसद्को २०६३ जेठ ४ गतेको बैठकले ‘नेपाल सरकार’ लेख्ने निर्णय गरेको हो ।
यतिका समय बित्दा पनि कार्यसमितिले विनियममा आबश्यक संशोधन गर्न सकेको छैन । नियमहरू बनाएर लागू गराउन सकेको छैन। हालसम्म खानेपानीको उचित ब्यबस्थापन गर्न नसक्नु,जग्गा पास गर्न नसक्नु , संस्थाले राख्नुपर्ने आवश्यक खाता किताब माईन्युट, सम्झौतापत्रजस्तो महत्वपूर्ण कागजात राखिएको छैन । विनियम बमोजिम वार्षिक रूपमा सदस्यता नविकरणको काम पनि गरिएको छैन।

लामो समयसम्म खानेपानीको नेतृत्वमा रहेका पदाधिकारीले जिम्मेवार, जवाफदेही, सेवा प्रवाहमा पारदर्शिता अपनाउन नसकेको आरोप स्थानीय उपभोक्ताको छ। समितिको प्रवृति र कार्यशैलीमाथि वारम्वार प्रश्न उठ्ने गरेको छ । त्यतिमात्र होईन, एउटा मात्र बोरिङ छ। अर्को बोरिङ तत्कालै गर्नुपर्ने आबश्यकता रहेको छ।

प्रेसरपम्प मेसिन बिग्रिरहन्छ ,त्यसलाई पनि नयाँ थप्नु पर्ने छ। ट्याङ्की पनि ठाउँ ठाउँबाट चुहिने भएको छ । त्यसको मर्मत सम्भार, रंगरोकन गर्नुपर्ने देखिन्छ । पाईप विस्तार त गर्नु छँदैछ, खानेपानी वितरणलाई स्वच्छ र व्यवस्थित रुपमा अगाडि बढाउन असल र सक्षम नेतृत्व आवश्यक छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्