एजेन्सी । एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्समा समर्पित एउटा नयाँ कम्पनी एक्सडटएआई स्थापना गरेको बताइएको छ ।

नेभाडामा गएको महिना इन्कर्पोरेट गरिएको यसको निर्देशकका रूपमा हाल अर्बपति उद्यमी मस्क र मस्कको पारिवारिक कार्यालयका निर्देशक जारेड बिरचल सचिवका रूपमा रहेका छन् । यो मस्कले यसै वर्षको मार्च ९ मा दर्ता गराएको देखिएको छ । मस्कले एआई कम्पनी सुरु गर्नेबारेको हल्ला धेरै पहिलेदेखि फैलिएको थियो । बिजनेस इनसाइडरको रिपोर्टले मस्कले नयाँ आउने जेनेरेटिभ एआई उत्पादनलाई सञ्चालन गर्ने हजारौँ ग्राफिक प्रोसेसिङ इकाइहरू (सीपीयू) खरिद गरेको खुलासा गरेको छ । फाइनान्सियल टाइम्सले पनि मस्कले माइक्रोसफ्ट समर्थित ओपन एआईसँग प्रतिस्पर्धा गर्न एआई फर्म बनाउने योजना बनाएको जनाएको थियो । यसका लागि कथित रूपमा मस्कले स्पेसएक्स र टेस्लाका लगानीकर्तासँग लगानी समेत खोजेका थिए । ट्विटर स्पेसमा एक अन्तर्वार्ताका क्रममा मस्कलाई उनले खरिद गरेका सीपीयूबारे सोध्दा केही बताएका थिएनन् । बरु, अहिले सबै मानिस र उनीहरूको कुकुरले समेत सीपीयू किनिरहेको जवाफ दिएका थिए । मस्कले खोलेको भनिएको एक्सडटएआई नाम एक्स कर्पोरेसनसँग मेल खान्छ । त्यो मस्कले ट्विटर खरिद गरेयता यसमा जोडेका छन् । सबै कुरा एउटैमा समेट्न सकिने गरी एभ्रिथिङ एपको ‘कन्सेप्ट’ अघि सारेका छन् । मस्कले आफैँ समेत सहसंस्थापक रहेको ओपन एआईको पछिल्लो समय विरोध गर्दै आएका थिए । उनी सन् २०१८ मा ओपन एआईबाट बाहिरिएका थिए । पछिल्ला महिनाहरूमा ओपन एआई च्याटजीपीटीका कारण र पछिल्लो संस्करण जीपीटी४ का कारण प्रख्यात छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्