बिर्तामोड ,बैशाख ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि, पद्धति र नियमानुसार संगठन सञ्चालन गर्दै पार्टीका गतिविधिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले जनताको बिश्वासयोग्य संगठन बनाउन नीति, नियम र विधानबमोजिम पार्टी सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

संघीय सांसद समेत रहेका नेता सिंहले संघीयता कार्यान्वयनका लागि थुप्रै नीति, नियम र कानून बन्न बाँकी रहेको बताउँदै अब संसद र सरकारले नीति निर्माण गरी तीनै तहका सरकार स्वस्फूर्त रुपमा चल्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाको जवाफ दिँदै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं प्रदेश संसदीय दलका नेता उद्धव थापाले संविधान अनुसार नै प्रदेश–१ को नामकरण गरिएको र यसमा ८२ जना सांसदले पक्षमा मतदान गरेको जानकारी दिए ।

पहिचानवादीहरुलाई आन्दोलन शान्तिपूर्ण र जनताको मन जित्ने प्रकृतिको बनाउन सुझाव दिँदै नेता थापाले पहिचानवादीको माग सम्बोधन गर्न संविधानबमोजिम नै कांग्रेस लचिलो हुने बताए । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद लख्खी गणेश, प्रदेश सदस्य मिरा खड्का, जिल्ला उपसभापति केशवराज पाण्डेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ओमकृष्ण विमली, दुर्योधन गुरुङ, पाण्डवलाल चौधरी, लिलाबहादुर कटुवाल, रुद्रप्रसाद चिमरिया, राजेन्द्र गौतमलगायतले केन्द्रीय सदस्य सिंहसँग सरकार र संगठनका विषयमा विभिन्न जिज्ञासा राखेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्