झापा, बैशाख ३ । पूर्वी तराईका आदिवासीहरुले हर्षोल्लासका साथ सिरुवा पर्व मनाएका छन् ।

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी, हलुवाई, देशीनाईलगायतका आदिवासी जातिहरूले बैशाख १ गतेदेखि तीन दिनसम्म सिरुवा पर्व मनाएका हुन् । पहिलो दिन बैशाख १ गते पानीको होली जल सिरुवा , २ गते हिलोको होली काद सिरुवा खेलेका उनीहरुले अन्तिम दिन आइतवार रंग खेलेर यस वर्ष सिरुवा पर्वलाई विदा गरेका छन् ।

सिरुवा पर्वको अवसरमा राजवंशी समाज विकास समिति नगर समिति बिर्तामोडले बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा सामूहिक सिरुवा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । नगर समिति अध्यक्ष जितलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन् ।

कार्यक्रममा भारत पश्चिम बंगालका विधानसभा सदस्य आनन्दमय बर्मन , प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी , बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वालगायतले शुभकामना मन्तव्य राखेका थिए । रुपा राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन जशोदा राजवंशीले गरेकी थिइन् । कार्यक्रममा बलराम राजवंशी , राम राजवंशीलगायत नेपाल र भारतका कलाकारहरुले गीत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा एकअर्कालाई रंग लगाइदिएर शुभकामना आदान प्रदान गरिएको थियो । सिरुवा पर्वको अवसरमा झापाका १५ पालिकामध्ये ९ पालिकाले आइतवार स्थानीय विदा दिएका थिए ।
आदिवासी समुदायको सिरुवा पर्व र लोपोन्मुख मेचे समुदायको राष्ट्रिय बैशागु बथर पर्वलाई मध्यनजर भद्रपुर, हल्दिबारी, कचनकवल, बाह्रदशी, गौरीगञ्ज, गौरादह, कनकाई , बिर्तामोड र शिवसताक्षी नगरपालिकाले स्थानीय बिदा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्