झापा , बैशाख ६ । गायक प्रकाश सपूतले केही दिन अगाडि सार्वजनिक गरेको गीत ‘सकम्बरी’ प्रति रात्रीकालिन मनोरञ्जन व्यावसायिक संघ नेपालले आपत्ति जनाएको छ ।
गीतमा प्रयोग भएका शब्द र भिडियोले रात्रिकालिन व्यावसायमा काम गर्ने कलाकारहरुमाथि प्रहार गरेको भन्दै गीत समेत हटाउन संघले माग गरेको छ । ‘गायक प्रकाश सपुतले विगत केही समयदेखि नेपाली छोरी, नारीको अस्मितामाथि मजाक, व्यङ्ग्य प्रहार गर्दै भाइरल हुनकै लागि ‘पीर’ र ‘फूलमाया-सकम्बरी’ जस्ता अपाच्य गीत बजारमा ल्याएका छन् ’, संघद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नारीहरूले आफ्नो दुःखको मोचन पौरख, संघर्ष र श्रमबाट होइन आफ्नो शरीर बेचेर गर्छन्, यौन बाहेक दुःखबाट मुक्ति पाउन उनीहरूसँग कुनै उपाय छैन भन्ने देखाएर कस्तो संस्कृति र भाष्य निर्माण गर्न खोजेका हुन् ?’ नेपाली नारीहरुको अस्मिताको रक्षा गर्न र भूकम्प, नाकाबन्दी र कोरोनापछि थलिएको रात्रीकालीन मनोरञ्जन व्यावसायको नकारात्मक प्रचार नगर्न समेत विज्ञप्तिमा अनुरोध गरिएको छ । अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारी हस्ताक्षर विज्ञप्तिमा भिडियो र गीतको केहि शब्द प्रति आपत्ति रहेको भन्दै घोर निन्दा र भत्र्सना समेत गरिएको छ ।