झापा , बैशाख ७ । बैशाख कृष्ण औँसी । नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ।

दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।

छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खाद्यपदार्थ खुवाउने, लुगाफाटाजस्ता उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने चलन छ। आमा नभएका भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान गरेर उनको सम्झना गर्छन्।

महाभारतको वन पर्वमा ‘पृथ्वीभन्दा पनि ठूलो चीज के हो’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले ‘आमा’ भन्ने जवाफ दिएका छन्, ‘संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।’
आमाको मुख हेर्ने औँसीसमेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्छ। आमा नहुनेहरूले त्यहाँ श्राद्ध–तर्पण गर्छन्।

यसैबीच आमाको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ। नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्