झापा, बैशाख ७ । झापाको कचनकवल– ७ बालुवाडीस्थित साना किसान कृषि सहकारी संस्थामा १४ जना कृत्रिम ऋणी खडा गरी व्यवस्थापक र सहव्यवस्थापकले करिव दुई करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

सहकारीको कार्यालय

व्यवस्थापक युवराज खत्री र सहव्यवस्थापक निरुमाया राजवंशीले मिलेर आफ्ना परिवारका सदस्य र आफन्तलाई कृत्रिम ऋणी बनाई सहकारीको त्यति धेरै रकम अपचलन गरेको कचनकवल गाउँपालिकाले अध्ययन गरेको प्रतिवेदनले देखाएको हो ।

धनमति राजवंशी ४० लाख,खिलसरी राजवंशी ४० लाख , सामवती राजवंशी २ लाख ३५ हजार , भिमादेवी खत्री २ लाख , विष्णुमाया खत्री २ लाख , चण्डिका दाहाल ३ लाख ,यमुना दाहाल २ लाख , फूलमाया गुरुङ २ लाख , भगिरथा खत्री ३ लाख ,गंगा उप्रेती ३ लाख , एमसरी राजवंशी ४९ लाख, करदो राजवंशी ५० हजार , निरुमाया राजवंशी २० लाख, हिरामणि राजवंशी १ लाख ७३ हजार ३१० र इन्द्रावती राजवंशी १५ लाख गरी जम्मा एक करोड पचासी लाख अन्ठाउन्न हजार तीन सय दश रुपैयाँ ऋण लगेको देखिएको छ । उल्लेख गरिएका ती व्यक्तिहरुलाई ऋण लगेको थाहा छैन । व्यवस्थापक खत्री र सहव्यवस्थापक राजवंशीले कृत्रिम ऋणी खडा गरी सहकारीको रकम अपचलन गरेका हुन् ।

त्योसंगै बैंक हिसाब मिति २०७९÷१०÷२६ सम्मको अध्ययन गर्दा मिति २८ जनवरी २०२२ मा एन आई सी एशिया बैंकको चेक नं. ३३३३६८५९ बाट युवराज खत्रीको नाममा चेक काटी रु १२,००,०००। (अक्षेरेपी बाह्र लाख मात्र) झिकेको पाईएको छ र सोको संस्थाको स्रेस्तामा कुनै पनि रेकर्ड पाईदैन ।त्यस्तै संस्थामा मिति २०७९÷१०÷२६ नगद हिसाब रु ५१६८०९÷५३(अक्षेरेपी पाँच लाख सोह्र हजार आठ सय नौ रुपैयाँ त्रिपन्न पैसा मात्र) देखिएको छ र सो अवधिपछि वित्तीय कारोवार अद्यावधिक नभएकाले नगद कसको जिम्मामा कति छ भन्ने यकिन नै छैन ।

संस्थाका व्यवस्थापक खत्री चैत १० गतेदेखि कुनै पनि जानकारी नदिई सम्पर्कबिहीन भएका छन् । रकम हिनामिना गर्ने सहव्यवस्थापक राजवंशीलाई संस्थाले निलम्बन गरेको छ । उनलाई निगरानीमा राखिएको छ । सहव्यवस्थापक राजवंशीले आफूसहित १४ जना कृत्रिम ऋणी खडा गरि रकम अपचलन गरेको स्वीकार गरिसकेका छन् । उनले गत चैत ५ गते आफूले रकम अपचलन गरेको स्वीकार गरी कागजमा दस्तखत समेत गरी मन्जुरीनामा अध्यक्ष लक्ष्मीदेवी लिम्बूलाई दिएकी थिइन् । सो कागजमा उनका ससुरा रतिया राजवंशीको नाममा रहेको साविक बालुबाडी गा. वि. स. वडा नं २ कित्ता नं २८५ को ज. बि. क्षेत्रफल ३३८÷३८ धितोस्वरुप रु १०,००००० (अक्षेरेपी दश लाख मात्र) को मालपोत कार्यालय भद्रपुर झापामा मिति २०७९÷१२÷०१ गते चलानी नं १००८१ बाट रोक्का गरेको समेत उल्लेख छ । व्यवस्थापक खत्री र सहव्यवस्थापक राजवंशीले रकम हिनामिना गरेपछि संस्थाका संचालक समितिका सदस्यहरुले संस्थाको हिसाब किताब जाँच गरी पाऊँ भनेर गाउँपालिकामा निवेदन दिएका थिए । त्यसपछि गाउँपालिका कार्यालयले सहकारी शाखा प्रमुख गौरव रिजालको संयोजकत्वमा तीर्थराज ओझा र पंचानन राजवंशी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । सो समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको हो ।आफूहरुले प्रारम्भिक अध्ययनपश्चात् प्रतिवेदन तयार पारेर गाउँपालिका कार्यालयमा बुझाएको शाखा प्रमुख रिजालले बताए । उनले अझै गहिरिएर बझ्न बाँकी रहेको जानकारी दिए । उनको नेतृत्वको छानबिन समितिले यस्तो निष्कर्ष निकालेको थियो –

प्रस्तुत विषयमा कचनकवल गाउँपालिकाको मिति २०७९÷१२÷२१ को चलानी नं १९९८ को प्राप्त पत्र अनुसार गठन भएको वित्तीय कारोबार अध्ययन समितिले कचनकवल ७ स्थित साना किसान कृषि सहकारी संस्था लि. बालुबाडी झापामा संस्थाको वित्तीय कारोवार शंकास्पद अवस्था देखिएकोले उक्त संस्थामा गई संस्थाको वित्तीय कारोबारहरुको स्थलगत अध्ययन गरी संस्थाको २०७८÷०४÷०१ देखि २०७९÷१०÷२६ गते सम्मको संस्थाको समग्र वित्तीय कारोबारहरुको अध्ययन गरी गाउँपालिकासमक्ष यो प्रारम्भिक प्रतिवेदन पेश गरेका छौ ।

संस्थाको वर्तमान अबस्थाकचनकवल गाउँपालिकाबाट साना किसान कृषि सहकारी संस्था लि. बालुबाडी झापाको हालको अबस्थाका बारेमा अध्ययन गर्दा संस्थाका व्यवस्थापक युवराज खत्री मिति २०७९÷ १२÷ १० गतेदेखि संस्थामा कुनै पनि जानकारी नदिई सम्पर्कबिहीन भएको अध्यक्ष लक्ष्मीदेवी लिम्बूबाट जानकारी प्राप्त भएको छ । संस्थामा सदस्यहरु सशंकित भई हिसाब हेर्ने तथा संस्थामा बचत फिर्ता लिन आउने सदस्यको संख्या बढेको पाईएको छ । संस्थाका सहव्यवस्थापक निरुमाया राजवंशीसहित १४ जना कृत्रिम ऋणी खडा गरि रु १,४६,५८,३१० (अक्षेरेपी एक करोड़ छयालिस लाख अन्ठाउन्न हजार तीन सय दश मात्र) मिति २०७९÷१२÷०५ गते आफूले अपचलन गरेको स्वीकार गरी कागज तयार गरी दस्तखत समेत गरी अध्यक्षलाई दिएको र सो कागजमा निजको ससुरा रतिया राजवंशीको नाममा रहेको साविक बालुबाडी गा. वि. स. वडा न २ कित्ता नं २८५ को ज. बि. क्षेत्रफल ३३८÷३८ धितोस्वरुप रु १०,००००० (अक्षेरेपी दश लाख मात्र) को मालपोत कार्यालय भद्रपुर झापामा मिति २०७९÷१२÷०१ गते चलानी नं १००८१ बाट रोक्का गरेको समेत उल्लेख गरेको अवस्था रहेको पाईयो । मिति २०७९÷१२÷१३ गतेबाट मिति २०७९÷१२÷२१ गतेसम्म संचालक समितिले ३ वटा बैठक बसी संस्थाको हालको अवस्थाका बारेमा संचालक समिति, लेखा समिति तथा सल्लाहकार समितिलाई संस्थाको वर्तमान अबस्थाका बारेमा जानकारी गराउने कार्य भएको छ । मिति २०७९÷१२÷१७ गते वडा नं ७ का वडाध्यक्ष भरत राजवंशीको रोहवरमा बसेको सल्लाहकार समिति, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रतिनिधिको उपस्थितिमा संस्थाको हाल उत्पन्न भएको समस्याहरुको बारेमा संस्थाको तर्फबाट जानकारी गराउने कार्य गरेको छ । संस्थाका सहव्यवस्थापक निरुमाया राजवंशीलाई निज आफैले स्वीकार गरी अपचलन गरेको रु १,४६,५८,३१० ( अक्षेरेपी एक करोड छयालिस लाख अन्ठाउन्न हजार तीन सय दश मात्र) का बारेमा ५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्ने भनी निजलाई स्पष्टीकरण माग गरेको छ । यस समितिले तपशिल बमोजिमको हिसाब किताव अध्ययन गरी प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।’

गाउँपालिकाले तयार पारेको प्रतिवेदन

समितिले अध्ययन गरी संस्थाको वित्तीय विवरण पनि निकालेको छ । गाउँपालिकाले खत्री र राजवंशीको परिवारसंग स्पष्टीकरण मागेको थियो । फरार रहेका खत्रीको परिवारले स्पष्टीकरण नबुझाएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । राजवंशीका श्रीमान कर्ण राजवंशीले भने लिखित जवाफ दिँदै व्यवस्थापक खत्रीले करकापमा पारी आफ्नी श्रीमतीलाई कागज गर्न लगाएको दावी गरेका छन् । कर्ण राजवंशी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिकाको अध्यक्ष पदमा उठेका थिए । विगतमा सामान्य अबस्था रहेका राजवंशी परिवारले केही वर्षयता राम्रो आर्थिक प्रगति गरेको देखिएको छिमेकीहरु बताउँछन् ।

सहव्यवस्थापक राजवंशीले रकम अपचलन गरेको कुरा स्वीकार गरिसकेको र व्यवस्थापक खत्री फरार रहेकाले फौजदारी मुद्धामा कानूनी कार्वाहीका लागि सो विषय प्रहरीलाई जिम्मा दिने तयारी भइरहेको न्यायिक समितिका संयोजकसमेत रहेका उपाध्यक्ष भट्टराईले बताए । त्यति ठूलो हिनामिनामा व्यवस्थापक र सहव्यवस्थापकको मात्र हात छ कि अन्य पनि संलग्न छन् , त्यो विषय खुल्न बाँकी छ । संस्थाकी अध्यक्ष लिम्बूले हरहिसाब निकाल्ने काम भइरहेको बताइन् ।‘ अहिले नै सबै कुरा भन्न मिल्दैन अध्ययन अनुसन्धानपछि सबै कुरा भनौला’ सहकारी कार्यालय अगाडि भेटिएकी लिम्बूले भनिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्