भद्रपुर, बैशाख७ । भद्रपुर वडास्तरीय टी–ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

भद्रपुर बलबस्टर्स क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर वडा नम्बर ९ लाई १०० रनले हराउँदै वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ ।

टस हारेपछि पहिला ब्याटिङ पाएको वडा नम्बर ६ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१८ रनको विशाल स्कोर खडा गरेको थियो ।वडा नं ६ का निरज चौधरीले ३४ रन बनाउँदा राहुल गुप्ताले ३२ , बिट्टु कामती र राकेश साहले ३०÷३० , ईश्वर हाडाले १८ रन र मनिष कामतीले १६ रन बनाएका थिए । वडा नं ९ का पारस बास्तोला र निशान मगरले दुई÷दुई विकेट लिएका थिए भने विशाल राई, मिलन राउत र राजन भट्टराईले समान एक–एक विकेट लिएका थिए । २१९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वडा नं ९ निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११८ रनमा समेटिएको थियो ।

वडा नं ९ का पारस बास्तोलाले ४० रन बनाउँदा पुष्कर दाहालले ५ र विशाल राईले ६ रन बनाएका थिए । वडा नं ६ का बिट्टु कामतीले ५ विकेट लिँदा अभय रजाकले दुई, बासु साह र मानस कर्मकारले एक– एक विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं ६ का बिट्टु कामती घोषित भए । शुक्रबार वडा नम्बर ८ र १० बीच खेल हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेतालाई नगद ३० हजार र उपविजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिने क्लबका सहसचिव किशोर लामाले जानकारी दिए ।

क्लबका अध्यक्ष मोहम्मद अफ्रोजको अध्यक्षतामा तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्