बिर्तामोड, बैशाख ८ । दशकौंदेखि भूमिहीन मुसहरहरु बसेको ऐलानी जग्गा षडयन्त्र गरेर आफ्नो नाममा पारेका बिर्तामोड १० को राजवंशी परिवारले मुसहर वस्तीलाई उठीवास लगाउन एक जना मुसहर महिलालाई निर्घात कुटपिट गरेका छन् ।

घाइते जासो ऋषिदेव

बिर्तामोड १० विराटपोखरमा उत्तर- दक्षिण सडकको पश्चिमपट्टी पुस्तौदेखि ऐलानी जग्गामा बसेका ९ घर मुसहरहरुलाई विगत दुई वर्षदेखि पवन राजवंशीको परिवारले उठीवास लगाउन विभिन्न षडयन्त्र गर्दै आएका छन् । पटकपटक धाक धम्की दिदै आएको राजवंशी परिवारले आज बिहान मुसहर बस्तीकी ४० वर्षिया जासो ऋषिदेवलाई निर्घात कुटपिट गरेका छन् । भत्केको टहरा बनाउँदै गरेकी जासोलाई पवनका छोरा दुर्गा राजवंशीले लठ्ठी र लात्तले हानेर घाइते बनाएको मुसहर वस्तीकी बसन्ती ऋषिदेवले बताइन् । श्रीमान शत्रुधन ऋषिदेव काममा गएको बेला एक्लै घरमा बसेकी जासोलाई दुर्गाले निर्घात कुटपिट गरेको बसन्तीले जानकारी दिइन् । टाउकोमा चोट लागेकी घाइते जासोलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याइएको छ । मुसहरहरुले प्रहरीमा उजुरी दिएका छन् ।

राजवंशीले उठीवास लगाउन खोजेको मुसहर बस्ती

मुसहरहरु बसेको ऐलानी जग्गा हडपेर अन्याय गरेको राजवंशी परिवारले अझ अत्याचार गर्न थालेको वडाध्यक्ष दुर्योधन गुरुङले बताए । उनले कुटपिटमा संलग्न राजवंशीमाथि कार्वाहीको माग गरेका छन् । वर्षौदेखिको आफ्नो थातथलोबाट उठीवास लगाउने षड्यन्त्र भइरहँदा समेत आफूहरुलाई कसैले पनि सहयोग नगरेको बिर्तामोड १० का मुसहरहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्