झापा, बैशाख ८ । झापा कचनकवल ७ बालुवाडीको साना किसान कृषि सहकारी संस्थामा मात्र नभएर अन्य सहकारी संस्थामा पनि हिनामिना भएको पाइएको छ ।

कचनकवल– ७ बालुवाडीस्थित साना किसान कृषि सहकारी संस्थामा १४ जना कृत्रिम ऋणी खडा गरी व्यवस्थापक र सहव्यवस्थापकले करिव दुई करोड रुपैयाँ हिनामिना गरेको पाइएको थियो । त्यो सहकारीसंगै कचनकवल गाउँपालिकाका अन्य सहकारी संस्थामा पनि रकम हिनामिना भएको पाइएको सहकारी शाखा प्रमुख गौरव रिजालले बताए । ‘अन्य सहकारी संस्थाका बारेमा पनि उजुरी आएको छ’ उनले भने,‘त्यसबारे अनुसन्धान भइरहेको छ ।’

बालुवाडीस्थित साना किसान कृषि सहकारी संस्थासंगै साना किसान कृषि सहकारी संस्था केचनामा पनि रकम हिनामिना भएको कुरा सार्वजनिक भएको हो । रकम हिनामिना गर्ने साना किसान कृषि सहकारी संस्था केचनाका प्रवन्धक विजयलाल गणेशलाई सहकारीले निलम्बन गरिसकेको छ । उनले करिव १३ लाख रुपैयाँ हिनामिना गरेको देखिएको सहकारीका कार्यबाहक अध्यक्ष पूर्ण भण्डारीले बताए । संस्थाको लेखापरीक्षणबाट समेत पूर्व प्रवन्धक गणेशले रकम हिनामिना गरेको पुष्टि भइसकेको भण्डारीले बताए । हिनामिना गरेको रकम कसरी उसुल उपर गर्ने विषयमा छलफल भइरहेको उनले बताए । त्यसबारे गाउँपालिका कार्यालयमा सहकारीले निवेदन दिएको छ ।

यसअघि साना किसान कृषि सहकारी संस्था बालुवाडीका व्यवस्थापक युवराज खत्री र सहव्यवस्थापक निरुमाया राजवंशीले मिलेर आफ्ना परिवारका सदस्य र आफन्तलाई कृत्रिम ऋणी बनाई सहकारीको करिव २ करोड रकम अपचलन गरेको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्