झापा, बैशाख ८ । झापाको बिर्तामोड ९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयले शिक्षकहरुका लागि तीन दिने तालिम सम्पन्न गरेको छ ।

विद्यालयले कार्यशालाको आयोजना गरी ४० जना शिक्षकहरुलाई तालिम दिएको हो । आफ्नै विद्यालयमा कार्यशालाको आयोजना गरी विद्यालयका सम्पूर्ण शिक्षकहरुका साथै छिमेकी विद्यालयहरुबाट समेत शिक्षकहरुलाई सहभागी गराइएको थियो। लामो समयदेखि सरकारी तहबाट तालिमको आयोजना नगरिएपछि शिक्षकहरुकै मागबमोजिम विद्यालयले आफै तालिम आयोजना गरेको जनाएको छ । विगत केही वर्षदेखि पाठ्यक्रम तथा पाठ्यपुस्तकमा व्यापक परिवर्तन भएपनि स्थानीय तहबाट कुनै पनि किसिमको अभिमुखीकरण तथा तालिमको आयोजना नगर्दा शिक्षकहरुलाई पठनपाठनमा दुबिधा उत्पन्न भएको थियो।

तालिममा आधारभूत तहमा शिक्षण पद्धति नयाँ पाठ्यक्रमले तोकेका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरू, शिक्षण पद्धति र प्रविधिको प्रयोगसम्बन्धी जानकारी दिइएको थियो। तालिममा खेल विधि र संगीतलाई कक्षामा कसरी समायोजन गर्ने भन्ने विषयमा पनि सहजीकरण गरिएको थियो ।
तालिमलाई प्रशिक्षक धर्मेन्द्र भट्टराई र घनश्याम अधिकारीले सहजीकरण गरेका थिए भने मनोज खडका र किरणबाबु भट्टराई ले गणित शिक्षणसम्बन्धी अनुभव साटासाट गरेका थिए। बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले तालिमको उद्घाटन गर्दै विद्यालयहरुले आफै तालिम तथा कार्यशालाको आयोजना गर्नु सराहनीय भएको बताए । उनले अबको समयमा आफैले सिक्नु र सिकाउनु उत्तम तालिम भएको बताए।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले शिक्षकहरूलाई शिक्षण कार्यमा सहयोग पुर्याउने उद्देश्यले कार्यशालाको आयोजना गरेको बताउँदै छिमेकी विद्यालयहरुलाई समेत सहभागी गराई लाभ लिने अवसर प्रदान गरिएको बताए। विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ सुवेदीले स्वागत गरेको कार्यक्रमलाई उच्च मावि इन्चार्ज उमानाथ भण्डारीले संचालन गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्