झापा, बैशाख ९ । झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-५ स्थित खारखोला निवासीका ७० वर्षीय भीमबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए । शनिबार बिहान ४ बजे घरदेखि दुई सय मिटर दक्षिण आफ्नै मकै बारीमा दुईवटा जंगली हात्तीले मकै खाइरहेको थाहा पाएपछि भट्टराई हात्ती धपाउन गएका थिए । सोही क्रममा उनीमाथि हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरी निरीक्षक तिम्सिनाले बताए । हात्ती स्थानीय पाँच पोखरी जंगलबाट आएको बताइएको छ । यता घटना पश्चात् इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्