झापा, बैशाख ९ । कोशी प्रदेश नामकरण विरूद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूको शव यात्रामा शनिबार विराटनगरमा झडप भएको छ ।

झडपमा ६ जना सुरक्षाकर्मी र ६ प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८१ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले रोडशेष चोकबाट दक्षिणतर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन ८१ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । उनका अनुसार ३ जना नेपाल प्रहरी, ३ सशस्त्र प्रहरी र ६ जना आन्दोलनरत पक्षका सामान्य घाइते भएका छन् । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार भएको प्रहरीले दावी गरेको छ ।

एक जना प्रहरीको टाउकोमा चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ । यस्तै आन्दोलनकारीतर्फ घाइते भएका झापा शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ । आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ ।
एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा शेर्मालाई बारको ब्लेडले काटेको थियो । यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन् । उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकारीले प्रहरीको अबरोध तोडेर मुख्यमन्त्री कार्यालयतिर अगाडि बढ्न खोजेपछि प्रहरीले अबरोध गरेको थियो । त्यसक्रममा भीड तितरवितर पार्न प्रहरीले ८१ सेल अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।


कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा गत चैत ५ गते घाइते भइ उपचारको क्रममा वैशाख १० गते निधन भएका लिम्बूलाई सरकारले सहिद घोषणा गरेपछि मात्र अन्त्येष्टिको तयारी गरिएको थियो । उनको अन्त्येष्टि गर्नुअगाडि धरान, इटहरी र विराटनगरमा शवसहित प्रदर्शन गरिएको हो । यसअघि उनको शव बिपी प्रतिष्ठान धरानको शवगृहमा रहेको थियो । आन्दोलनरत पक्षले सहिद घोषणाको माग गर्दै शव बुझ्न नमानेपछि संघीय सरकारले २४ गते चैतमा लिम्बूलाई सहिद घोषणा गरेको थियो । मृत्युको २९ दिनपछि शनिबार अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रद्धाञ्जलीका लागि शव विराटनगर ल्याइएको थियो ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पुनः नामांकन संघर्ष समिति गठन गरी आन्दोलनरत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्