बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

बिर्तामोड नगरपालिका–१० सैनिकबजारको अल इन वान क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

शनिवार भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान महिला फुटबल क्लब सुनसरीलाई टाईब्रेकरमा पराजित गर्दै आयोजक अल इन वान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–१० स्थित महेन्द्र ज्योति मा.वि.को खेलमैदानमा भएको खेलमा निर्धारित समयमा दुई–दुई गोलको बराबरी भएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा अल इन वानका खेलाडीहरु एलेक्स चौधरी, लक्ष्मी श्रेष्ठ, चत्रिका चौधरी र अनिता लम्जेलको प्रहार गोलमा परिणत भएको थियो ।

टाईब्रेकरमा धरानका लागि सुस्मिता राईले गोल गरेपनि प्रतिक्षा राई र टेरेशा मगरको प्रहार गोलमा परिणत हुन नसक्दा पराजय भोग्न बाध्य बन्यो ।

त्यसअघि बराबरी भएको खेलमा आयोजक अल इन वानका लागि कुसुम राईले खेलको २१ र प्रतिक्षा मल्ल ठकुरीले २४ औं मिनेटमा एक–एक गोल गरेका थिए । धरानका लागि प्रतिक्षा राईले ९ र समीक्षा मगरले २० औं मिनेटमा एक–एक गोल गरेका थिए ।

आयोजक अल इन वानकी गोलरक्षक सुशिला चौधरी शनिवारको खेलको ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् ।

प्रतियोगिताको बिजेताले २ लाख २ हजार र उपबिजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक संस्थाका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिए । प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रतियोगिताअन्तर्गत आइतवार मिक्लाजुङ गाउँपालिका मोरङ र महमाई एकता क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।अल इन वान क्लबका अध्यक्ष योञ्जनको अध्यक्षतामा आयोजित समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाह, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङलगायत बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्